५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

भूगोलले जस्तै राजनीतिक–सांस्कृतिक हिसाबले पनि दक्षिण अमेरिकी देशका धेरै कुरा मिल्दाजुल्दा छन्। उपनिवेश र प्रतिरोधको साझा इतिहास र स्मृति बाँचेका उनीहरूबीचको समानता र भिन्नता त्यहाँ बन्ने फिल्महरूमा प्रतिविम्बित हुन्छ।

यस पटक युट्युबमा अंग्रेजी सबटाइटलमा हेर्न पाइने पाँच दक्षिण अमेरिकी निर्देशकका फिल्ममा पनि यो विशेषता देखिन्छ।

इन्नोसेन्ट भ्वाइसेज (२००५)

सन् १९७९ देखि १९९२ बीचको बाह्र वर्ष, तीन महिना। एल साल्भाडोरका जनताले गृहयुद्धको चेपुवामा यति नै लामो समय बिताउनु परेको थियो। यहाँ भएको सकरारी पक्ष र विद्रोही पक्षबीचको युद्धमा हजारौंंको मृत्यु र लाखौं विस्थापित भएका थिए।

‘इन्नोसेन्ट भ्वाइसेज’ त्यही द्वन्द्वको समयको साक्षी बनेको पात्र चाभाको कथा हो। ऊ फिल्मको कथावाचक पनि हो।

चाभाको परिवार, उसका साथीसंगी, आफन्त र उसले पढ्ने स्कुलको परिवेश र पात्रको माध्यमबाट फिल्ममा युद्धमा निर्दोष नागरिक र बालबालिकामाथि भएको सैनिक दमनको चित्रण गरिएको छ।

युद्धकै कारण बुबाले घर छोडेर अमेरिका हिँडेपछि चाभा उसकी आमाले भनेजस्तै घरको ‘म्यान अफ द हाउस’ भएको छ। चाभाको घरमा उसकी आमा, दिदी र भाइ छन्। तीन साना बच्चा हुर्काउन दिनरात खट्ने चाभाकी आमाको अनुहारमा हरघडी सन्तानप्रतिको चिन्ता झल्किन्छ। हरेक साँझ कर्फ्यु लाग्ने उनीहरूको दैनिक बन्दुकबाट निर्देशित छ। कुन बेला कताबाट गोली चल्ने भन्ने भयबीच बाँचेका छन्।

सैनिकहरूले गाउँका १२ वर्ष पुगेका केटाहरूलाई सैनिक सेवामा भर्ती हुन लिएर जाने भएकाले पनि चाभा र उनका साथी हरेक दिन स्कुल जाँदा भयभित हुन्छन्। सैनिकले नलगे विद्रोहीले लैजाने भएकोले यो गाउँमा १२ वर्ष हुनु राम्रो संकेत हैन। चाभा पनि १२ वर्ष पुग्न एक वर्ष मात्र बाँकी छ। ऊसँग सैनिक वा आफ्नो अंकलसमेत लागेको विद्रोही सशस्त्र समूहतिर लाग्नुपर्ने विकल्प मात्रै छ।

के चाभा सशस्त्र समूहतिर लाग्ला? के चाभालाई सैनिकले समातेर बन्दुक बोकाउला?

१२ वर्ष पुगेका बालकहरू सबै टिनको छानामा लुकेको दृश्य, स्कुलमा सैनिकले आएर केही बच्चाहरूलाई पक्रेर लैजाँदा अन्य बालबालिकाको अनुहारमा देखिने डर, स्कुलमा पढिरहेका बेला दोहोरो ‘फायरिङ’को घटना, घरको कोठामा पटक पटक गोली छिरेर चाभाको भाइ रुने जस्ता मार्मिक दृश्य धेरै छन्। गोली चलेर रोइरहेको भाइलाई हँसाउन आफ्नो गालामा लिपिस्टिक लगाउने चाभा देखेर उसको भाइ हाँस्ने क्षण को भावुक नहोला?

द्वन्द्वको कथा भए पनि यो फिल्ममा रमाइला घटना धेरै छन्। धेरै जना सहायक बालपात्र भएको यो फिल्ममा बालसुलभ निर्दोष गतिविधिले दर्शकलाई हँसाउन छोड्दैन। संकटबीच पनि पात्रहरू हाँस्न छोड्दैनन्। चाभा र उनकी आमाको साहसिक भूमिकाले पनि दर्शकलाई बलियो बनाउँछ।

७० हजारभन्दा बढी मानिसको मृत्यु भएको साल्भाडोरमा गृहयुद्धका बेला हजारौं बेपत्ता र विस्थापित भएका थिए। यो फिल्ममा झन्डै दस वर्ष सशस्त्र द्वन्द्व भोगेका नेपाली दर्शकले महशुस गर्ने धेरै कुरा भेटिन्छ।

मोटरसाइकल डायरिज (२००४)

एकतारे टोपी, झपक्कै अनुहार छोप्ने दाह्री अनि ओठमा सिगार च्यापेको चे ग्वेभाराको तस्वीर सम्भवतः संसारकै सबभन्दा बढी पुनर्उत्पादन हुने तस्वीर हो। उनको तस्वीरजस्तै संसारभरका महथ्वपूर्ण कम्युनिष्ट आन्दोलनमा उनको क्रान्तिकारी विचारले पनि प्रभाव पारेको छ। क्युबालगायत ल्याटिन अमेरिकी देशको क्रान्तिमा उनले सक्रिय भूमिकासमेत निर्वाह गरे। सन् १९२८ मा जन्मेका उनी १९६७ मा मारिएपछि उनको चर्चा झनै चुलियो। उनका बारेमा किताब, वृत्तचित्र, गीत र सिनेमा पनि बने।

उनीबारे बनेकामध्ये एउटा चर्चित फिल्म हो, ‘मोटरसाइकल डायरिज’।

ठूला अन्तरार्ष्ट्रिय महोत्सवमा कयौं पुरस्कार जित्ने यो फिल्म निकै चर्चित छ। यो फिल्मले चे बन्नुअघिको २३ वर्षे अर्नेस्टो ग्वेभाराको व्यक्तित्वबारे बुझ्न सघाउँछ। अर्नेस्टो चे बन्नुको पृष्ठभूमि बुझ्न चाहनेका लागि यो फिल्म जानकारीमूलक छ।

मेडिकल पढाइ सकिने अन्तिम वर्ष सन् १९५२ को समय अर्नेस्टो आफ्नो साथी अल्बर्टो ग्रेनाडोसँग ल्याटिन अमेरिकी देशको भ्रमणमा निस्किएका थिए। करिब चार महिना लामो यो यात्रामा उनीहरूले झन्डै आठ हजार माइल यात्रा गरेका थिए। यी दुई साथीले गरेको यात्रालाई ग्वेभाराले डायरीमा उतारेका थिए। यो ‘मोटरसाइकल डायरिज’ नामको त्यही संस्मरणमा आधारित फिल्म हो।

फिल्म दुई युवाको सपना, मित्रता र खोजको कथा छ। अर्नेस्टो मेडिकल डिग्रीको सेमेस्टर सकिनुअगावै बायोकेमिस्ट अल्बर्टोसँग मोटरसाइकलमा निस्कन्छन्। जीवनमा रमाइलो अनुभवका लागि यात्रामा निस्केका यी दुई साथी किताबमा पढेको ल्याटिन अमेरिकालाई आफ्नै नजरबाट परख गर्न चाहन्थे।

२३ वर्षे ग्वेभारा र २९ वर्षीय अल्बर्टोको यो यात्रामा दक्षिण अमेरिकी भूगोलका विविधतालाई दर्शकले पनि महशुस गर्न पाउँछन्। यात्राक्रममा भेटिने युवतीहरूसँग पात्रले गर्ने रमाइलोसँगै ठाउँठाउँमा मोटरसाइकल चिप्लिने, लड्ने र मोटरसाइकल धकेलेको सकस पनि रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। साथै, यी दुई मित्रका नोकझोंकले फिल्मलाई थप रोचक बनाउँछ। अर्जेन्टिनाबाट सुरू यो यात्रा चिली, पेरु, कोलम्बियाका विभिन्न ठाउँ हुँदै भेनेजुएलाको काराकासमा टुंगिन्छ।

भौतिक यात्रासँगै पात्रहरूले मानसिक र वैचारिक यात्रा पनि गर्छन्। यात्रामा आउने मरुभूमि, पहाड र त्यहाँको मान्छेका समस्या पनि खुल्दै आउँछन्। फिल्ममा दुई मित्रको कथाबाहेक अर्नेष्टो र उनकी प्रेमिकाको कथा पनि छ।

कुष्ठरोगीहरू, खानीमा काम गर्ने श्रमिकहरू, सांस्कृतिक विविधता बोकेका जात र समुदायसँगको जम्काभेटले यी दुई पात्रको मन र दिमागमा के फरक पार्छ?

पछि, बन्दुक बिना क्रान्ति सम्भव नहुने निष्कर्षमा पुग्ने चेको विचार र सिद्धान्तलाई यो यात्राका के कति कुराले मलजल गर्‍यो? सँगै हिँडेका यी दुई मित्रको यात्रा कहाँसम्म सँगै रह्यो? अर्नेस्टोबाट चे बन्नुअघिको कथा भए पनि फिल्ममा यी प्रश्नका जवाफ भेटिन्छ।

वाल्टेर सालेस निर्देशित यो फिल्ममा पृष्ठभूमिमा बज्ने गुस्ताभो सान्ताओलालाको संगीत विशेष छ।

हबाना ब्लुज (२००५)

ठूलो संगीत स्टार बन्ने र युरोपमा सांगीतिक कन्सर्ट गर्ने साझा सपना बोकेका दुई साथी छन्, रुयी र तितो। आधुनिक संगीत शैलीबाट प्रभावित र हिप्पीजस्ता देखिने उनीहरुले क्युबाको सांगीतिक जरालाई भने छोडेका छैनन्।

रुम्बा, तिम्बा, ज्याज, नुएभा त्रोभा, साल्सा, र्यापजस्ता गीत, संगीत र नृत्य परम्परा भएको क्युबाका यी युवाले आफ्नो संगीतमा आधुनिक र परम्परागत संगीतको मिश्रण गरेका छन्। विदेशमा कन्सर्ट गर्ने सपना देखेका यी दुईले क्युबाको अन्डरग्राउन्ड संगीतको अवस्थासमेत थाहा छ।

क्युबाको नयाँ पुस्ताको संगीत लगानी गर्न इच्छुक स्पेनी अन्तर्राष्ट्रिय क्यासेट कम्पनीले उनीहरूलाई गीत रेकर्डका लागि प्रस्ताव पनि राख्छ। तर शर्तसहित राखिने यो प्रस्तावले दुई साथीको मित्रता र प्राथमिकतामा मतभेद जन्मन्छ।

नयाँ परिस्थितिमा उनीहरूको मित्रता, उनीहरूले देखेको साझा सपना पूरा होला त? अझ, दुई बच्चाको बुवा रुयी परिवारभन्दा बढी संगीतलाई समय दिएकाले र आम्दानी पनि नभएकाले श्रीमतीसँग सम्बन्ध नाजुक बन्दैछ।

मित्रता, प्रेम अनि संगीतमा जम्ने सपनालाई यसका मुख्य पात्रले कसरी सन्तुलनमा राख्लान्? हबाना ब्लुजको कथा यही हो।

सन् २००५ को कान फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको यो फिल्ममा कथा भन्न संगीतलाई भरपुर उपयोग गरिएको छ। रुयी र उनको श्रीमतीबीचको सम्बन्धलाई संवादभन्दा बढी गीतका शब्दले भनिएको छ। क्युबाका मान्छेमा वैधानिक वा अवैधानिक तरिका, जसरी पनि विदेश जान मोह र बाध्यता पनि फिल्ममा मिहिन रुपमा देखाइएको छ। अर्कोतिर, विदेशकै लागि आत्मसम्मान बेच्न नचाहने पात्र पनि छन्।

मारिया फुल अफ ग्रेस (२००४)

आफ्नो जीवनको निर्णय आफैं लिने चाहना बोकेकी मारियाको कथा हो ‘मारिया फुल अफ ग्रेस’। फूल कारखानामा काम गर्ने १७ वर्षे मारिया अल्भारेज गर्भवती छिन्। यस्तो बेला काम गर्ने ठाउँमा मालिकको दुर्व्यवहार उनलाई चित्त बुझ्दैन। जागिर छोड्छिन्।

मारिया बेरोजगार भएपछि उनीसँगै उनका आमा र दिदीको पनि चिन्ता बढ्छ। अर्कोतिर, उनका प्रेमीले बिहे गरम् भने पनि मारियालाई प्रेमीको मायामा शंका छ। उनी प्रेमीसँग सम्बन्ध तोडेर अघि बढ्ने निर्णय गर्छिन्। कोलम्बियाको राजधानी सहर नजिकै बस्ने उनी बोगोटा गएर साथीको सहयोगमा काम पाउने आशामा छन्। यही क्रममा उनी राम्रो पैसा पाउने लोभमा लागुपदार्थ तस्करी गर्ने गिरोहसँग ठोक्किन्छिन्।

यो प्रस्ताव स्वीकारेसँगै बोगोटा सहर नजिकैको सानो गाउँमा हुर्किएकी निर्दोष मारियालाई अर्कै दुनियाँमा पुर्याउँछ। उनी एकै पटकमा दर्जनौं लागुपदार्थ भएका क्याप्सुल एकैपटक निल्ने विधि सिक्न थाल्छिन्। फिल्मको केन्द्रमा कोलम्बिया र अमेरिकाबीच हुने लागुऔषध तस्करीको अँध्यारो पाटो देखाइएकोले यो भागलाई विस्तारमा देखाइएको छ।

यो चरणमा मारिया, लुसी र ब्लान्काजस्ता पात्र एकआपसमा जोडिन्छन्। उनीहरू सबैको पेटमा दर्जनौं क्याप्सुल लुकाइएको छ जुन अमेरिका पुगेर कसैलाई सुम्पनु छ। मारियाको पेटमा मात्रै ६२ वटा क्याप्सुल छन्। तर न्युयोर्क एयरपोर्टका सुरक्षाकर्मीलाई छलेर यो काम गर्न सजिलो छैन।

यसपछिका घटनाक्रमले मारिया र उनका साथीको जीवनलाई सजिलो बनाउला या अझ अप्ठ्यारोमा फसाउला? यसका लागि फिल्म नै हेर्नुपर्छ।

२००४ मा सार्वजनिक यो फिल्मबाट अभिनेत्री र निर्देशकको कामको निकै प्रशंसा भएको थियो। फिल्ममा मारियाको भूमिकामा धेरै अवार्ड जितेकी कैटेलिना स्यान्डिनोको अभिनय तारिफयोग्य छ। आत्मविश्वाससँगै चरित्रको भूमिका र उमेर सुहाउँदो चञ्चलता, संकोच, रिस र डरका भाव उनको अनुहारमा देखिन्छ।

फोटोग्राफी पत्रकारिताको पृष्ठभूमिसमेत भएका निर्देशक जोसुआले अमेरिकाको न्युयोर्क, क्विन्सलगायतका ठाउँमा बस्ने आप्रवासी क्याम्बोडिनका वास्तविक कथाको जगमा यो फिल्म बनाएका हुन्।

द नाइन क्विन्स (२०००)

गस्टन पाउलस डिपार्टमेन्टल स्टोरमा सामान किनिसकेपछि पैसा दिने बेला हिनामिना गर्छन्। उनको पहिलो प्रयास सफल हुन्छ। दोस्रो प्रयासमा भने त्यहाँका कर्मचारीले उनलाई समाउँछन्। यो दृश्य सब नियालिरहेका रिकार्डो डारिन नक्कली प्रहरी बनेर गस्टनलाई डिपार्टमेन्टल स्टोरबाट निकाल्छन्। तर, रिकार्डो पनि पाउलस जस्तै ठग नै हुन्छन्।

यसरी भेटिएका यी दुई ठगको लक्ष्य पैसा कमाउने भएकाले उनीहरू ‘द नाइन क्विन्स’ नामक प्राचीन टिकटको नक्कली कपी बेच्ने योजना बनाउँछन्। ‘द नाइन क्विन्स’ फिल्मको नाम पनि यही आधारमा राखिएको हो। टिकटकै वरिपरि फिल्मको कथा घुम्छ। अनेकौं लफडामा पात्र र कथा जेलिँदै जान्छ। फिल्मको रोचक पक्ष यही हो।

सन् १९९८ देखि २००२ सम्म अर्जेन्टिनाको अर्थतन्त्र धर्मराएको थियो। त्यहाँको समाज भ्रष्टचार र ठगीको दलदलमा फस्यो। यो फिल्मले त्यही समयको ठगी प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा छिटो–छिटो बदलिरहने दृश्यमार्फत देखाइदियो। अर्थतन्त्रको प्रभाव समाजका तल्लो तहका मानिसमा बढी पर्‍यो। र फिल्मका यी दुई मुख्य पात्र निम्न मध्यम वर्गीय समुदायलाई प्रतिनिधित्व गर्छन्।

सन् २००० मा सार्वजनिक फिल्मको कथा र पात्रमा अर्थतन्त्र तहसनहस भएको समयको पृष्ठभूमिको प्रभाव छ।

‘द नाइन क्विन्स’ अर्जेन्टिनाको ‘क्लासिक थ्रिलर’ फिल्म मानिन्छ। फैबियान बिलिन्स्कीको लेखन र निर्देशनको यो फिल्म दुई दर्जनभन्दा बढी विधामा मनोनयनमा परेको फिल्म हो, जसले थुप्रै अवार्ड पनि जित्यो। टेलुराइड, टोरोन्टो लगायत प्रसिद्ध फिल्म फेस्टिभलमा यसलाई देखाइयो।

रसिलो/चोटिलो संवाद भएको ‘द नाइन क्विन्स’को सार यस्तो छ– मान्छेका बाहिरी आवरणले जहिल्यै धोका दिन्छ। मान्छेभित्र के हुन्छ कसलाई के थाहा!

यो फिल्मका पात्र पनि त्यस्तै छन्। बाहिर अर्कै, भित्र अर्कै।