श्वेतपत्र जारी गर्‍यो सरकारले

श्वेतपत्र जारी गर्‍यो सरकारले

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताएका छन्।

देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा अर्थमन्त्री खतिवडाले शुक्रबार संसदबाट श्वेतपत्र जारी गर्दै बजेट अनुशासन उल्लंघन भएका कारण त्यस्तो अवस्था आएको बताएका हुन्।

‘बजेट अनुशासन उल्लंघन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ। स्थापित प्रणाली र मान्यता विपरित कतिपय कर छुट दिइएको छ’, अर्थमन्त्री खतिवडाले भने’, ‘बिना योजना, बिना आधार र बिना स्रोत आयोजना कार्यान्वयनको नाममा स्रोतको सुनिश्चितता दिइएको छ।’

अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालको लगानीको वातावरण त्यति उत्साहजनक नरहेको पनि बताए। ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको प्रयासले अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि, वित्तीय प्रणालीको स्थायित्व, अन्तर्राष्ट्रिय व्यापार विस्तार र लगानीको वातावरणलाई प्रभावित गर्दछ’, उनले भने।

अर्थमन्त्रीले संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तीमा भएको वृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको बताएका छन्। ‘पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको छ’, श्वेतपत्रमा भनिएको छ।

अर्थमन्त्रीले वैदेशिक व्यपारको स्थिति भयावह भएको बताएका छन्। ‘आर्थिक वर्ष २०४९/५० मा रु. २२ अर्बको व्यपार घाटा रहेकोमा पच्चीस वर्षको अवधिमा यस्तो घाटा करिब ४२ गुणाले बढी गत आर्थिक वर्ष २०७३/७४ मा रु. ९ खर्ब १७ अर्ब पुगेको छ’, श्वेतपत्रमा अगाडि भनिएको छ, ‘चालु आर्थिक वर्षको प्रथम सात महिनासमम्मा यस्तो घाटा रु. ६ खर्ब १४ अर्ब पुगेको छ।’