ला लिगा जुन दोस्रो सातादेखि हुने आशा

ला लिगा जुन दोस्रो सातादेखि हुने आशा

मड्रिड । स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित ला लिगा आगामी जुन महिनाबाट सुचारु हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष टेबासले ला लिगा जुन १२ बाट सुचारु हुनेमा आफू आशावादी भएको बताएका हुन् ।

कोरोनाको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको थियो । तर, कोरोनाको महामारी स्पेनमा कायम रहेपछि ला लिगा सुचारुको मिति अनिश्चित बनेको छ । ‘मलाई थाहा छैन । यो महामारीको चरणमा निर्भर हुन्छ । म चाहन्छु जुन १२ बाट सुचारु होस्,’ टेवासले भने, ‘यो भाइरसको स्पाइकमा निर्भर हुन्छ । पहिलो र दोस्रो डिभिजनको लिग एकै समयमा सकिन्छ ।’

स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेवासले स्पेनमा फुटबलको प्रतीक्षा भइरहेको बताउँदै जुन दोस्रो साताबाट सुरु भएको अवस्थामा हरेक दिन खेल हुने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण स्पेनमा मार्चको पहिलो सातादेखि फुटबल ठप्प छ । तर, झन्डै दुई महिनाको अन्तरालपछि खेलाडीहरूले सामाजिक दूरी कायम गर्दै प्रशिक्षणमा फर्कन थालिसकेका छन् । अध्यक्ष टेवासले ला लिगा टोलीहरू प्रशिक्षणमा फर्कन थालेपछि फुटबल फर्कनेमा आशावादी रहे पनि सम्भावित १२ जुनबाट हुनेमा भने आशंका रहेको बताएका छन् । ‘फुटबल कहिले फर्कन्छ, यो भन्न सकिने अवस्था छैन । १२ या १९ जुनलाई सम्भावित मिति तोकिएको छ । तर, सोही मितिमा हुनेमा शंका नै छ,’ अध्यक्ष टेवासले भने, ‘३५ दिन नै खेल हुनेछ । तर, २४ घन्टाअघि खेलाडीको परीक्षण गर्नेछौं । स्वास्थ नियमहरू पालना गर्न सकिनेछ । उनीहरूले ला लिगाको नियम पालना गरे हामी धेरै खेलाडीलाई स्वस्थ राख्न सक्छौं ।’

आइतबार मात्र ला लिगका पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको थियो । जसको कारण लिग थप अनिश्चित बनेको छ । अध्यक्ष टेवासले एकै क्लबमा धेरै खेलाडीमा कोरोना देखिए त्यो लापर्बाहीका कारण भएको बताएका छन् । ‘यदि एकै क्लबमा पाँच खेलाडीमा संक्रमण देखिए त्यो लापर्बाही दर्शाउँछ,’ टेवासले भने, ‘हामी लिग सुचारु हुँदा खेलाडीमा कुनै संक्रमण नहोस् भन्ने आशा गर्छौं ।’ यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिडभन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ । लिगमा अब ११ चरणको खेल खेल्न बाँकी छ ।

कोरोनाको कारण विश्वमा २ लाख ८० हजार मानिसको मृत्यु भइसकेको छ । स्पेनमा मात्र २६ हजार बढीले ज्यान गुमाएका छन् ।

यता इंग्लिस प्रिमियर लिग अर्का महिनाबाट सुरु सम्भावना बढेको छ । इंग्ल्यान्ड सरकारले अर्काे महिनाबाट खेलकुद गतिविधिका लागि ‘ग्रिन लाइट’को सिग्नल दिएपछि प्रिमियर लिग हुने पक्का भएको हो । बेलायती पत्रिका दि टेलिग्राफका अनुसार प्रिमियर लिग मध्य जुनबाट ‘न्युट्रल भेन्यु’मा ‘क्लोज डोर’मा सुरु हुन सक्नेछ । प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेको छ । प्रिमियर लिग क्लबहरूले केही साताअघिबाट सामाजिक दूरी र बेलायत सरकारको नियम पालना गर्दै प्रशिक्षण थालिसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसविरुद्ध बेलायत अर्काे चरणमा युद्ध लडिरहेको सम्बोधन गरेका थिए । तर, उनले त्यहाँ खेलकुदका बारेमा केही बोलेका थिएनन् । यद्यपि, प्रधानमन्त्री जोन्सनले सुरक्षा नीति पूरा हुने र देशभर संक्रमणको दर बढ्न नदिने रणनीतिका साथ महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्न प्रिमियर लिगलाई अनुमति दिने अपेक्षा गरिएको छ ।