लकडाउनमा सवारी पास चाहियाे ? यसरी पाइन्छ डिजिटल पास

लकडाउनमा सवारी पास चाहियाे ? यसरी पाइन्छ डिजिटल पास

जिल्ला प्रशासन कार्यालयमा पास लिनेको भीड । भीडका कारण कर्मचारी र पास लिन जाने सबै कोरोना भाइरसको जोखिममा । कोही पास नपाएर अस्पताल र मलामी जान नपाउने । पास नहुँदा अस्पताल नपुग्दै मृत्यु । सवारी साधन चलेको छैन । अनि हिँडेर टाढा–टाढाबाट पास लिन आउनुपर्ने ।

‘ओहो ! यसको विकल्पमा के हुन सक्छ ?’

जेनेक्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले आफ्नो टिममा छलफल गरे । भीडभाड नगरी कसरी पासको व्यवस्था गर्न सकिएला ? अन्तत : छलफलले निचोड निकाल्यो– डिजिटल पास ।

डिजिटल पासको व्यवस्था हुने हो भने कार्यालयमा भीडमाड भएन । टाढा–टाढाबाट धाएर कार्यालय पनि आउनु परेन । घरबाटै पास लिन सकियो । उनले यो आइडिया राष्ट्रिय सूचना आयोगका प्रमुख महेन्द्रमान गुरुङलाई सेयर गरे ।

गुरुङले उनको आइडियालाई रुचाए । त्यसपछि यो कुरा गृहसचिव महेश्वर न्यौपानेकोमा पुग्यो । अनि सोहनसहितको टोलीले गृहसचिवसँग र सुरक्षा निकायका प्रमुखसँग छलफल गर्‍यो ।

गृहसचिव न्यौपानेलाई आडियाले मन छोयो । उनले तत्कालै काम अगाडि बढाउन निर्देशन दिए । त्यसपछि डिजिटल पास बन्ने पक्का भयो ।

‘अब कसरी बनाउने त डिजिटल पास ?’

फेरि रोहनको टोली छलफलमा जुट्यो । टोलीले जतिसक्दो छिटो बनाउने अठोट लियो ।

साेहनले भारतको आईटी टोलीसँग केही प्राविधिक सहयोग लिए । टोली १० दिनसम्म दिनको ३–४ घण्टा मात्र सुतेर डिजिटल पासको सिस्टम तयार पारे । अनि डिजिटल पासले मूर्त रूप लियो ।

सरकारले अहिले यही डिजिटल पासको व्यवस्था गरेको छ । अब पास लिन जिल्ला प्रशासन कार्यालय पुग्नै पर्दैन । घरमै डिजिटल पास आइपुग्छ । गाउँका दूरदराजका नागरिकले पनि सहजै पास पाउँछन् । ७७ जिल्लाकै लागि यो व्यवस्था गरिएको छ ।

‘कसरी लिने त पास ?’

पास २ तरिकाबाट लिन सकिन्छ । एउटा नेपाल टेलिकम, एनसेल र स्मार्टमा १११२ नम्बरमा आफ्नो मोबाइल नम्बर वा नाम लेखेर एसएमएस गर्न सकिन्छ । एसएमएस गरेपछि एउटा लिङ्क आउँछ । लिङ्कमा क्लिक गरेपछि फेरि वेब पेज खुल्छ । यसका लागि नेपाल टेलिकम, एनसेल र स्मार्ट कम्पनीले एसएमएस र डाटा निःशुल्क दिएको छ । इन्टरनेट सेवा छ भने गृह मन्त्रालयको वेब पेज https://epass.moha.gov.np मा सिधै जान सकिन्छ । त्यहाँ साधारण फाराम हुन्छ । त्यो फारममा विवरण भर्नुपर्छ ।

नाम, मोबाइल नम्बर, ठेगाना, जिल्ला, कुन जिल्लामा जाने, क्षेत्र, परिचयपत्रको नम्बर, कुन प्रयोजनका लागि, प्रयोजनको कारण, कति अवधिका लागि, कुन सवारी साधनलगायतका विवरण भर्नुपर्ने हुन्छ ।

विवरण भरेर सेन्ड गरेपछि त्यो सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुग्छ । कार्यालयले सबै विवरण हेरेर उपयुक्त लागेमा ६ डिजिटको नम्बर पठाउँछ । यदि रिजेक्ट भएमा कारणसहित कार्यालयले सन्देश पठाउँछ ।

स्वीकृत भएमा ६ वटा नम्बर आउँछ । त्यो नम्बर लिएर बाहिर निस्कन सकिन्छ । प्रहरीले चेक गरेमा त्यो नम्बर भन्नुपर्ने हुन्छ । प्रहरीले त्यो नम्बर हो होइन, तत्कालै आफ्नो मोबाइलबाट हेर्न सक्छ । सुरुदेखि अन्तिम भेरिफाइसम्म डिजिटल हुन्छ । यो सिस्टमबाट पास लिँदा एकअर्कोसँग टच पनि नहुने र कोरोना भाइरस सर्ने जोखिम पनि हुँदैन ।