यी हुन् कोरोना संक्रमण रोक्ने ५ सफल र प्रभावकारी तरिका

यी हुन् कोरोना संक्रमण रोक्ने ५ सफल र प्रभावकारी तरिका

कोरोना भाइरस यतिबेला विश्वव्यापी महामारी बनेको छ । दैनिक हजारौं संक्रमित थपिदै गएका छन् भने सयौंको मृत्यु भइरहेको छ ।

कोरोना संक्रमण रोक्नका लागि विश्वका धेरै देशहरु लकडाउनको अवस्थामा छन्, सामाजिक दुरी कामय गर्न भनिएको छ, घरेलु र अन्तर्राष्ट्रिय उडानदेखि, भेला, सभा सम्मेलनजस्ता कार्यक्रममा रोक लगाइएको छ । युरोप र अमेरिका कोरोना भाइरसबाट अति प्रभावित हुँदा केही एसियाली देशहरु कोरोना भाइरसको संक्रमण रोक्न सफल भएका छन् ।

चीनको वुहानमा ३१ डिसेम्बरमा कोरोना भाइरसको संक्रमण पछिलो पटक देखिएको थियो । चीनले करिब ८२ हजार संक्रमित रहेको चीनमा करिब एक महिनादेखि संक्रमितको संख्या दुई अंकमा सीमित छ । चीनका निकट छिमेकी देशहरु कोरोना संक्रमणको दरलाई नियन्त्रणको कामको अगुवाई गरिरहेका छन् ।

अमेरिकास्थित जोन्स हप्किन्स् विश्वविद्यालयका संक्रमण रोग विज्ञ टोल्बर्ट न्यानस्वाहले प्रकोप नियन्त्रण गर्न सफल उपायहरू अपनाएका देशहरू रहेको र उनीहरूबाट सिक्नुपर्ने बताएका छन् ।

उनले भने, ‘मैले चीनको मात्र कुरा गरिरहेको छैन, जहाँ आक्रामक उपायहरू अवलम्बन गर्दा संक्रमितको संख्या घट्यो, जुन अन्य प्रजातान्त्रिक देशहरूलाई लागु गर्न सजिलो रहेन ।’

केही देशहरुले सफलतापूर्वक फरक कदम रोजे र त्यो प्रभावकारी देखिएको छ । यसको एउटा उदाहरण ताइवान हो । करिब २ करोड ३६ लाख जनसंख्या रहेको ताइवानमा ३८२ जना संक्रमित भएका छन् भने मृत्यु संख्या ६ जनामा सीमित भएको छ ।

यस्तै हङकङमा संक्रमितको संख्या ९९० रहेको छ भने ४ जनाको मृत्यु भएको छ । जापान र दक्षिण कोरियाले पनि सुरुमा निकै संक्रमित देखिएपनि त्यसलाई रोक्न सफल भएका छन् । तर दुवै मुलुकमा संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

न्यानस्वाहकाका अनुसार मौलिक र प्रभावकारी उपायहरु अपनाउँदा देशहरू कोरोनाभाइरसको विस्तारलाई नियन्त्रणमा सफल भएका छन् ।

१. परीक्षण, परीक्षण र फेरि पनि परीक्षण

विज्ञ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सुरुमै पहिचान गर्नु नै प्रकोप रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएकोमा सहमत छन् । न्यानस्वाह भन्छन्, ‘कति मानिस प्रभावित छन् भन्ने कुरा जानकारी नहुँदासम्म भाइरसको वास्तविक प्रभाव थाहा पाउन वा आवश्यक कदम उठाउन सकिन्न ।’

न्यास्वाहका अनुसार जुन देशहरू परीक्षणमा भर परे, त्यहाँ नयाँ संक्रमितको संख्या तल झरेको देखिएको छ, र जुन देशले परीक्षणको विधिमा जोड दिएनन् त्यहाँ संक्रमितको संख्या बढेको देखिन्छ ।

उनले भने, ‘दक्षिण कोरियाले दैनिक १० हजार नमुना परीक्षण गरेको छ । त्यसको अर्थ सुरुमा अमेरिकाले महिनाभरीमा गरेको परीक्षणभन्दा बढी उसले दुई दिनमा गरेको थियो ।’

डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसले भनेका छन्, ‘हाम्रो साधारण सन्देश सबै देशलाई –परीक्षण, परीक्षण, परीक्षण’ । सबै देशहरूले सबै शंकास्पद व्यक्तिको परीक्षण गर्न सक्नुपर्छ, उनीहरू आँखा चिम्लिएर महामारीसँग लड्न सक्दैनन् ।’

२. संक्रमितलाई एक्ल्याउने, टाढा बस्ने

कोरोना संक्रमितलाई जतिसक्दो चाँडो अरुको सम्पर्कमा जानबाट रोक्नु अर्को प्रभावकारी नीति हो । अमेरिकाको टेम्पल विश्वविद्यालयकी संक्रमण रोग विशेषज्ञ प्राध्यापक क्रिस जोनसन भन्छिन्, ‘दक्षिण कोरिया र चीनले आफ्ना नागरिकको पहिचान र परीक्षण गरेर उनीहरूलाई एक्लै राख्ने काम निकै राम्रो गरेका छन् ।’

परीक्षणहरुले बिरामीलाई एक्ल्याउन र भारइस विस्तार हुनबाट त रोक्छन् नै सँगै सुरुवाती चरणमा रहेका सम्भावित नयाँ संक्रमितहरुको पहिचानमा पनि सहयोग पुग्छ ।

नयाँ सम्भावित संक्रमित पत्ता लगाउन चिनियाँ अधिकारीहरूले उच्च सतर्कता अपनाएको उनको भनाई छ । उनका अनुसार चीनमा संक्रमितको संख्या उत्साहजनक रुपमा कम हुनुको पनि यो एउटा कारण हुनसक्छ ।

उनले भनिन्, ‘उच्च ज्वरो आएका बिरामी ज्वरोको क्लिनिकमा पठाइए फ्लू वा कोभिड–१९ को परीक्षण गरिन्छ । यदि परीक्षणबाट संक्रमण पुष्टि भयो भने परिवारमा नसरोस् भनेर उनीहरूलाई क्वारेन्टाइनमा राखियो ।’

ताइवान, सिंगापुर र हङकङले अर्को बाटो अवलम्बन गरे । त्यहाँ शंकास्पद बिरामीलाई घरभित्र पनि एक्याएर राखियो र त्यो नियम अवज्ञा गर्नेलाई तीन हजार अमेरिकी डलर जरिमाना गर्ने घोषणा गरियो ।

न्यानस्वाहका अनुसार यो दुवै रणनीतिको मुख्य लक्ष्य संक्रमित वा सम्भावित संक्रमितको पहिचान गर्नु र पत्ता लगाउनु हो ।

ताइवान र सिंगापुरमा संक्रमितको सम्पर्कमा पुगेकाहरूलाई पहिचान गर्ने रणनीति अंगालिएको थियो । त्यहाँ संक्रमितसँगको कुराकानीका आधारमा यात्रा विवरण तथा सुरक्षा क्यामेराको सहायता लिएर खोजी गरिएको थियो ।

उनले भने, ‘१२ मार्चमा हङकङमा ४ सय ४५ जना संक्रमित थिए । तर सम्भावित संक्रमित पत्ता लगाउन उनीहरू सबैसँग सम्पर्कमा आएका १४ हजार ९ सयको परीक्षण गरियो र १९ जना संक्रमित भेटिए ।’

३. तयारी र तीव्र कदम

न्वानस्वाहका अनुसार संक्रमण समुदायमा पुग्नुअघि छिटो काम गर्नु नै भाइरस नियन्त्रण गर्ने आधारभूत तरिकामध्ये एक हो । उनले इबोलाको रोकथामका लागि पश्चिम अफ्रिकामा काम गरेका थिए ।

उनी भन्छन्, ‘ताइवान र सिंगापुरजस्ता देशहरूले नयाँ संक्रमितको पहिचान र उनीहरूलाई अलग्गै राख्ने द्रुत काम नै संक्रमण विस्तार र नियन्त्रणमा निर्णायक कदम भएको देखाएका छन् ।’

ताइवानमा कोरोना भाइरस नियन्त्रणमा सफलता पाउनुका पछि उनीहरुले गरेको तीव्र तयारी र सन् २००३ मा महामारी नियन्त्रणका लागि बनाइएको एकीकृत संयन्त्रको भूमिका प्रमुख थियो ।

सार्सको महामारीपछि बनाइएको सो संयन्त्रमा विभिन्न सरकारी निकाय र अनुसन्धान संस्थाहरू छन् र त्यसयता उसले कैयौं अध्ययन र अभ्यास गरेको छ ।

न्यानस्वाह भन्छन्, ‘प्रकोपको सुरु चरणमै कामको निम्ति तयार हुनु र छिट्टै रोकथाममा उत्रिनु महत्वपूर्ण पक्ष हुन् । युरोप र अमेरिकामा हामीले उनीहरू ढिलो तयार भएको मात्र होइन कि सुस्त गतिमा काममा उत्रिएको देख्यौं ।’
जनवरीमा पहिलो संक्रमण पुष्टि हुनुअघि नै ताइवानले चीनको वुहान पुगेर आएका सबै यात्रुलाई स्वास्थ्यबारे सोधपुछ गरिसकेको थियो ।

हङकङले बन्दरगाहका प्रवेश विन्दुहरूमा ज्वरो नाप्ने यन्त्र ३ जनवरीबाटै सञ्चालनमा ल्याएको थियो । उसले त्यहाँ १४ जना पर्यटकलाई क्वारेन्टाइनमा राखेको थियो ।

४. सामाजिक दूरी कायम गर्नु

कोरोना भाइरस संक्रमण रोक्न सामाजिक दुरी कायम गर्नु सबैभन्दा प्रभावकारी मानिएको छ ।

न्यानस्वाह भन्छन्, ‘एकपटक रोग तपाईको देशभित्र पसिसकेको छ भने नियन्त्रणका उपाय लामो समयका निम्ति प्रभावकारी हुँदैनन् ।’ त्यसपछि मानिसहरूलाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी बाटो भनेको हङकङ र ताइवानले गरे जस्तो सामाजिक दूरी बनाउने काम कार्यान्वयन गर्नु नै हो ।

हङकङले जनवरीदेखि सबै सामाजिक समारोह रद्द गरेको थियो भने स्कूलहरू बन्द गरिए अनि मानिसहरुलाई घरबाटै काम गर्न आग्रह गरेको थियो ।

सिंगापुरमा विद्यालय खुला राखिए पनि दैनिक रुपमा विद्यार्थी र त्यहाँका कर्मचारीलाई निगरानी र परीक्षण गरियो ।

५.सरसफाइ

डब्लुएचओले मानिसहरुलाई संक्रमणबाट जोगिन नियमित रुपमा हात धुन र सफा रहन भनेको छ ।

न्यानस्वाह भन्छन्, ‘कैयौं एसियाली देशहरूले सन् २००३ को सार्स महामारीबाट सिकिसकेका थिए । ती देशहरूलाई सरसफाइले मानिसहरूलाई बिरामी हुन नदिने र अरूबाट संक्रमण सर्नबाट जोगाउने कुरा थाहा छ ।’

सिंगापुर, हङकङ र ताइवानजस्ता देशहरूका सडकहरूमा मानिसहरूलाई प्रयोग गर्न दिनका निम्ति ब्याक्टेरिया मार्ने औषधी पाइने केन्द्रहरु बनाइएका थिए र व्यापक रुपमा मास्कहरु प्रयोग गरिएका थिए । मास्क रोग सर्नबाट जोगाउँन सधैं प्रभावकारी नभएपनि त्यसले खोकी र हाछ्यूँबाट सर्ने खतरा कम गर्छ । बीबीसी रिपोर्टको सारसंक्षेप