माडीमा सुकुमबासीका निर्माणाधीन घरहरु तोडफोड

माडीमा सुकुमबासीका निर्माणाधीन घरहरु तोडफोड

माडी । सुकुमबासीका लागि माडी नगरपालिका वडा नं ७ मा निर्माण भइरहेका घरहरुमा तोडफोड गरी भत्काइएको छ । कुसुमखोलाबाट विस्थापित भएका चेपाङ जातिको सुकुमबासीहरुलाई माडी नगरपालिकाले वडा नं ७ को सार्वजनिक जमिनमा ५० वटा घर बनाइरहेको छ ।
स्थानिय ५\६ जनाको समुहले मंगलबार निर्माणाधीन घरहरुमा तोडफोड गरेको माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिए । उनीहरुले केहि घरका पिलरहरु ढालेको उनले जानकारी दिए । तोडफोड गर्नेहरुको पहिचान भइनसकेको उनले वताए । ‘कसले भत्कायो र किन भत्काएको हो भन्ने कुरा अहिलेसम्म जानकारीमा आएको छैन । हामीले बुझ्ने प्रयास गरिरहेका छौँ’, उनले भने ।
एकिकृत वस्ती विकास योजना अन्तर्गत माडी नगरपालिकाले त्यस स्थानमा सुकुमबासीका ५० वटा घर बनाउँदै छ । करिब १२ वटा घर बनिसकेको वडाध्यक्ष सापकोटाले बताए । अन्य घरहरु बन्ने क्रममा रहेका छन् । खरको झुप्रा घरहरुमा बस्दै आएका सुकुमबासीहरुका लागि नगरपालिकाले टिनको छाना भएको दुई कोठे घर बनाउन थालेको हो ।