भूकम्पपछिका ५ वर्ष : ८८ प्रतिशत काम गरेको दाबी, ३ खर्ब ८१ अर्ब रुपैयाँ मात्र खर्च

भूकम्पपछिका ५ वर्ष : ८८ प्रतिशत काम गरेको दाबी, ३ खर्ब ८१ अर्ब रुपैयाँ मात्र खर्च

१२ वैशाख २०७२ को विनाशकारी भूकम्प गएको ५ वर्ष बितेको छ । ५ वर्षमा पुनर्निर्माणको सबै काम सक्ने लक्ष्य निर्धारण गरिए पनि पूरा हुन सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म ८८ प्रतिशत प्रगति प्राधिकरणले गरेको छ । भूकम्पपछिको पुननिर्माणका लागि ८ खर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने प्राधिकरणको प्रक्षेपणमा हालसम्मको सरकार र दातृ निकायबाट आएको रकमसमेत गरी जम्मा ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणका अनुसार ३ खर्ब ९ अर्ब रुपैयाँ सरकार तथा दातृ निकाय र ७२ अर्ब रुपैयाँ गैरसरकारी संस्थाको रकम खर्च भएको छ । पुनर्निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत पूरा खर्च हुन सकेको छैन । प्रत्येक वर्ष पुनर्निर्माणका लागि विनियोजन गरिएको खर्च ३० प्रतिशतसम्म खर्च हुन सकेन ।

‘पुनर्निर्माणका लागिसमेत विनियोजन गरिएको खर्च हुन नसक्नु हाम्रो व्यवस्थापकीय कमजोरी हो’, पूर्वअर्थमन्त्री डा. रामशरण महतले भने । तत्कालीन सरकारको अवधारणाअनुरूप पुनर्निमार्णका लागि छुट्टै निकाय बनाएर द्रुत गतिमा काम गर्ने योजना अघि सारिए पनि प्राधिरकणमा भएको राजनीति र अस्थिरताका कारण पुनर्निर्माणको काम समयमा हुन नसकेको महतको भनाइ छ ।

‘प्राधिकरणको अध्यक्ष मात्र ५ पटक परिवर्तन भएको छ । प्रमुख कार्यकारी अधिकृत पनि निरन्तर परिवर्तन हुँदा काममा असर गर्‍यो’, महतले भने ।

तत्कालीन सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २०७२ असारमा नेपालमा दाता सम्मेलन गरेको थियो, जसमा ४.३ विलियन डलर सहयोग गर्ने प्रतिवद्धता आएको थियो, जसको आडमा पुनर्निर्माणका कामहरू अघि बढाइएका थिए ।

१२ वैशाख २०७२ मा गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसपछिका परकम्पका कारण ८ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । भूकम्पका कारण करिब १० खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको अध्ययनले देखाएको थियो ।

तत्कालीन समयमा नेपालको आर्थिक वृद्धिदर ०.६७ विन्दुमा झरेको थियो । तत्कालीन अर्थमन्त्री महतका अनुसार भूकम्प र नाकाबन्दीको समान असर अर्थतन्त्रमा परेका कारण त्यो हदसम्मको गिरावट आएको हो ।

५ वर्षपछि नेपालको अर्थतन्त्रले पुन: उस्तै किसिमको क्षति व्यहोर्नुपरेको छ । भौतिक संरचनामा क्षति नपुगे पनि कोरोना भाइरसको संक्रमण र गरिएको बन्दाबन्दीको कारण यथास्थितिमा करिब २ खर्ब रुपैयाँ बराबको क्षति व्यहोर्नुपरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् ।