भरतपुर १९ मा पुनः मतदान तर कहिले ?

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान हुने भएको छ । मतपत्र च्यातिएको दुईमहिनापछि सर्वोच्च अदालतको यस्तो फैसला आएको हो ।
न्यायाधीशद्वय ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । सर्वोच्चले यसअघि भएको आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला सुनाएको हो ।

निर्वाचन आयोगको निर्णयलाई सदर गर्नू भन्ने आदेश जारी भएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । सर्वोच्चले मतदान र मतगणनास्थलको सुरक्षा व्यवस्था पनि कडा बनाउन आदेश जारी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते पौने १२ बजे राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएपछि मतगणना स्थगित गरिएको थियो ।

पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो । च्यातिएको मतपत्र पछि अनुसन्धान गरी निर्वाचन आयोगले पुनःमतदानको निर्णय गरेपछि एमालेले मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

भरतपुर १९ मा १४ गते राति वडा नम्बर १९ को खसेको २ हजार ८९७ मतमा १८०९ मत गनिएको थियो । त्यसबेलासम्म नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले ४१ हजार  ६४१ मत लयाएका थिए भने माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले ४० हजार ९०८ मत ल्याएकी थिईन् । उनीहरुको मतान्तर ७३३ छ ।

भरतपुर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरेपछि १९ गन्नु अघिको मतान्तर ७८४ थियो ।  भरतपुर २० मा खसेको मत ३ हजार ३०२ छ ।

३८३६ मतान्तरलाइ घटाउँदै रेणु दाहालले ७८४ मा झारेकी हुन् । भरतपुर १९ र २० बढी कांग्रेसको बाहुल्यता भएको क्षेत्र भएकाले ७८४ मत आउने र जित्ने दावी कांग्रेस–माओवादीको थियो । तर भरतपुर १९ को १८०९ मत गन्दा रेणुले त्यो वडामा जम्मा ५१ मत मात्रै बढी पाएकी थिईन् । भरतपुर १९ मा कुल मतदाता ३७९७ छ ।

अब कहिले हुन्छ त मतदान ?

सर्वोच्च अदालतको फैसला हेरेर निर्वाचन आयोगले आज यसबारेमा निर्णय गर्ने भएको छ । आदेशअनुसार जिल्ला निर्वाचन कार्यालयले मिति तय गर्ने कि आयोगको बैठकले भन्ने थाहा हुने प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार आयोगको बैठक आजै बस्नेछ । निर्वाचनको मिति तय भएपछि प्रकृया अघि बढ्ने उनको भनाइ छ । उनले छिटै निर्वाचन हुने पनि जानकारी दिए ।

एमाले भन्छ–दूर्भाग्यपूर्ण 

काठमाडौं । नेकपा एमालेले भरतपुर–१९मा पुन मतदान गराउने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले पुनः मतदान गराउने फैसलाले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको बताएका हुन् ।
भट्टराईले ट्रुथपोस्ट नेपालसँग कुरा गर्दै भने, “नेकपा एमाले स्वतन्त्र न्यायलयप्रति सम्मान व्यक्त गर्दछ । न्यायालयको गरिमालाई उँचो राख्न सदैव कृयाशील रहनेछ । तर आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ ।”
फैसलाले नागरिकको सर्र्वोेच्चता तथा जनमतलाई अपमानित गरेको भए पपनि भरतपुरका जनताले पुनः आफ्नो जनमत मार्फत नागरिकको  सर्वोच्चतालाई स्थापित गर्ने विश्वास एमालेले लिएको उनले बताए ।
“हामीलाई भरतपुरका जनताप्रति पूरा भरोसा छ । नेपाली जनताले पटक पटकको भदौ १२ लाई कहिलेसम्म सहनुपर्ने हो ?” भन्दै भट्टराईले प्रश्न गरेका छन् । ०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन नेतृत्वको ९ महिने सरकारको संसद् विघटन गर्ने निर्णय अदालतले उल्ट्याइदिएको थियो । त्यस्तै एमालेका अर्का नेता रवीन्द्र अधिकारीले पनि अदालतको फैसला दुभाग्यपूर्ण भन्दै ट्विट गरेका छन् । “मतपत्र च्यातिने कुरा सुनियोजित र प्रायोजित थियो, मतपत्र च्यात्ने उमेदवारका वारेस थिए । अदालतको दुर्भाग्यपूर्ण फैसला । जनताको फैसला नै अन्तिम,” उनले ट्विट लेखेका छन् ।

 उमेदवार यसो भन्छन्

काठमाडौं । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरको मेयर पदका उमेदवार बनेका देवी ज्ञवालीले अदालतको फैसला इतिहासकै दुर्भाग्यपूर्ण भएको बताउँदै जनमतले त्यसलाई अस्वीकार गर्ने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले भरतपुर महानगरको १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गर्नु मतपत्र च्यात्ने कदमको बैधानिकता दिएको ठहर गर्दै जनताले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले भने, “मतपत्र च्यात्नेकै पक्षमा सर्वोच्चले फैसला गर्नु दुःखद् छ । जनता त्यो निर्णयलाई मान्ने पक्षमा छैनन् । एमालेको पक्षमा मतदान गरेर अदालतको निर्णय सच्च्याउने छन् ।”

उनले अदालतको फैसला एमालेको पक्षमा नरहे पनि निर्वाचनको परिणाम एमालेको पोल्टामा पर्ने विश्वास व्यक्त गरे । त्यस्तै उनले गलत नजिर बसिसकेकाले मत्रपत्रको सुरक्षाको विशेष बन्दोवस्त मिलाउन निर्वाचन आयोग समक्षक अनुरोध गरे ।

“एमालेले हिजो पनि जितेकै हो, मतपत्र च्यातेर जनताको मतको अवमूल्यन गर्नेले जित्दैनन्, एमाले चुनाव जित्नेमा विश्वस्त छ,” उनले भने ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबाट साझा उमेदवार बनेकी रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताउँदै जनताको अभिमतको कदर भएको प्रतिक्रिया व्यक्त गरेकी छन् । “दोश्रो चरणको निर्वाचन सकिएर नतिजा सार्वजनिक भएको पनि लामो समय बितेपछि अदालतले फैसला गरेको छ । यो निर्णय कुर्न निकै धैर्य गर्नुपर्यो । जनताको पक्षमा फैसला आएको छ ,” उनले खुसी व्यक्त गरिन्  । उनले आफू निर्वाचन जित्नेमा विश्वस्त रहेकोसमेत बताइन् ।