बिचरा ! रने

बिचरा ! रने

अविनाश पन्थी

हिजो अलि नै धोक्यौ कि के हो ? उठ । काममा जानी हैन ? रने झसगं भयो । जुरुक्कै उठ्न नि सकेन । कोल्टे फेर्यो । आफ्नो जीवनको दौडले खासै रफ्तार लेको त होइन । तर रनबहादुरबाट रने भैयो । ‘आर यू एन’ रन ‘रन’ माने दौडनु भनेर झा सरले भन्ते चार पाँच किलासतिर । खैर केही छैन । पढ्नका अल्छी केटाहरुको लहलहैमा लाहुर गैयो । धन्न जनतन दुई चार अक्षरसम्म जानेकोले सैल्लो भयो । उता । त्यही त चन्चले उमेर मन थिर भएन । घर, परिवार, मुलुक सम्झियो । हान्निएर घरै आइयो । साथीभाइ नि छुटे । पढाईको के कुरो । गाउँमा नि मन रमेन । बटौलीतिर लागियो । लाहुरमा भाँडा माझ्दामाझ्दै तन्दुरमा बसियो । तेई सीप तर लाउँदै केही ट्याम तन्दुरी सँगै ज्यान नि सेकाइयो । यसबाट नि खासै पर्ता पर्नी कुरो भएन । यसैबेला मुलुकमा व्यबस्था फेर्ने आन्दोलन चर्कियो । सबैजना तेता लागे । ढावा नि बन्द भयो । काम नभएसी मुखाँ माड लागेन । गाउँ फर्कियो । यसो पाखोबारी खनखोरस गर्दै दिन बिते ।  त्यै बेला यो कालीसँग पिरती नि गाँसियो । मनले खाएसी के लाग्दो रैच र ? आमा बालाई एक बचन सोधें । त्यसपछी सुख दुःख यसैसँग । जहान थपिएसी पाखोबारीले मात्र धान्नी कुरो नि भएन । चुनाप आयो । अब त हाम्रा दिन आउँछन् भनेर तेता नि सक्दो सहयोग गरियो । जनताकै मर्का बुझेको । हाम्रा कुरा उठाउने । दुखी गरिबलाई माया मान्ने पाटी । जिताइयो पनि । अब गाउँमा बाटो खन्नी । नाली बन्नी । पैरो जानी बाटामा गारो लाउनी । पक्की कुलो बन्नी । लेबर काम गर्दागर्दै मिस्त्री भैयो । देशमा, गाउँमा जन्ताकै पाटीको सरकार । गरिबका अनारमा हाँसो आउला भनेको हालत उस्तै । त्यै बुधे बरु लाहुर बस्दा सरदारजीको टडकमा हिन्थ्यो ऐले मेयर साबको गाडी हाँक्छ ।

रने अल्छी मान्दै अर्को कोल्टे फेर्छ । ए काली ले ले एक कप च्या खाम । टाउको भारी भओ । ल ल । उठ अब त । एकछिन आँखा चिम्म गर्छ । के गर्नी यता झरेको नि तीन वर्ष भओ । काम नि ठिकै थ्यो । मिस्त्रीभरीमा ठेकदारले नि मन पराकै छन् । पत्ताकै छन् । कतिका घर बनाइयो ऐलेसम्म खोट लाछैन कसैले । केटाकेटी नि दुईटै स्कूल जानी भए । कालीले नि लेबरकाम गर्दा गर्दै गारो लाउन सिकी । अड्कोपड्को प्लास्तर हान्छे । दुखजिलो गरेको पैसा सहकारीमा राखेको । बैशाक पछि केटाकेटी किलास चड्लान । नए ड्रेस, किताप, कापी, झोला खोज्लान् । आफूले पढिएन । यता ठोक्किदां उता ठोक्किदां पढेको भा अर्कै हुन्थ्यो भन्नी मना आउँच । चैतबाट फिटिक्क भनेजस्तो काम भएन । यसो टिपन टापन काम मात्रले कति धानिनु । लौ च्या खाउ । अलिकति कागती नि निचर्दिछु । ऐले यसो काम गर्न मेसो मिलेको बेलां बिहान बेल्का ओभर ट्याम गर्न छोडेर । किन अल्छी गर्चौ ? अस्ती चैत, बैशाक मैना यो कोरोना हो के जातीले ठ्याम्मै काम गर्न पाइएन । असारां अलिअलि काम गरियो । तेतीले क्यार्नी ? कोठा भारा र खानमै सकियो के रे । मैले नि कसरी चलाम । खानी मुख चाचारओटा छन् । बेला यस्तो छ । कुन बेला फेरी बन्द हुनी हो ? कैले बिरामी परिनी हो ? क्यै भर छैन । उता गाउँमा नि यसपाली पहिरोले गोठको एउटो पाखो भत्काओ । यसो दुईचार पैसो जोगिए दशैंमा गइएच भनी टालटुल गर्नीहोला ?

यो के जातको बिमार रैच कुन्नि ? सरखार नि आत्तिसको रे । केइ गरे नि होला जस्तो छैन । बिमार हुनी बढेका बढ्यै छन् । अपस्तालमा ठाम छैन रे । मर्न नि अलिअलि गर्दै मरेका छन् । औषधी, सुई केइ छैन भन्चन् । अस्पताल जानीले नि पैसो धेरै खर्च भओ भन्चन् । के हुनी हो ? हैन अस्पताल, डाक्टर मस्तै छन् भनेर शहरां झरियो उस्तै छ यता नि । हाम्ले त के जानम बरै । तेत्रा ठूला नेता, डाक्टर, सरहरुले भनेका कुरा मान्नै परो । के गर्चेस त काली यस्तै हो हाम्रो जिन्दकी । तेरा हाम्रा दिन कैले आएनन् । हाम्रो नि सरकार आउला । हाम्रा नि दिन फेरिएला । सजिलरी औषधीमूलो होला । हाम्रा केटाकेटीले नि अरु सरोबर पढ्न पाउलान । हाम्ले नि सिप अनुसारको काम पाइएला । हाम्ले बनाको संविधानमा कुन्नि के वाद भन्ने छ त्यसमा सबैलाई बराबरी होला भन्ने लाथ्यो केरे । ऐले त झन् सरकारका कुरा नि के के गड्याङमड्याङ मात्रै सुनिन्च । काम गर्न खोज्दा के मिलेन के मिलेन हुन्च रे । तँ हाम्ले के बुझम र खै तेत्रो सरकारको कुरा ।

लौ च्या नि सक्यो । त्याँ एक ब्यानको काम छ रे । म निस्कें है । पाँचोटा सय दिन्छु एकछिन आइदेउ भन्थे । ए साहुजी ! सर ! को हुनुन्च ? रने भाइ आयौ ? अलि ढिलो भओ है सर । आफ्नै तानाबानामा भुलेचु । सर एउटो कुरो सोधम ? अब हाम्ले यो दशैंसम्म सजिलै काम गर्न पाम्ला कि नाई ? यो रोग आछ नि त्यसले गर्दा फेरी बन्द त हुन्न नि ? अस्ती पाँच हजार थपिए, हिजो बाइस जना मरे भन्चन । हामी कर्मी काम गरेर खानीको दिन कसरी जाला अब भनेर नि । ऐलेसम्म त जनतन गुजारियो । यत्रो दश दश मैना गरेर खानी ट्याम तेसै बिते । न हाम्ले काम गर्न पाइयो । हाम्रा केटाकेटीले त पढ्न नि बिर्से । हामी गरिब दुखीका दिन कैले फिर्लान् ? आन्दोलनले हाम्लाई पिर्नी । बन्द हुँदा हामी थिचिनी । हुँदा हुँदा रोगले नि मार्नी त आखिर हाम्ला जो हो । ढिलोचाँडोको कुरा त होला सर । हाम्लाई लायो भनी त बाँचिन्न होला सर ? दुख नमान्नु होला केरे मनमा लाएर सोधें केरे । केइ जबाफ नपाएसी काममा उ लाग्छ ।

रने फेरी टोलाउँछ । के सोच्छ कुन्नी ? टाउको नि भारी भएझैं लाग्छ । ठिकै छ । ड्रेस त केटाकेटीले दशैंमा लाउलान् । किताब पो अर्को वर्ष काम नआउनी भओ । हैन फेरी बिमार भैयो भने त । होस् काम त टिपटाप गर्नै परो । जनतन दशैंसम्म दुखजिलो गरियो भने गाउँ गैन्च । बरु बिमार नहुँदै जान पाए हुन्थ्यो । अब उतै दुख गरम्ला भन्थी काली पनि । के गर्नी गाउँबाट यता हुन्छ कि भनियो । शहरले हाम्ला हेरेन । यहाँ सबैका आ आफ्ना रन्का हुन्चन । अब फेरी बन्द भयो भने त मरिन्च खान नपाएर । बन्द नगरेर नि भएन फेरी । अब गाउँ नै जान ठिक होला ? सबैले आफ्ना स्बादका लागि त रैच हामी गरिबलाई अगाडी सार्ने । हाम्रो लागि कस्ले सोच्यो र ? यत्रो बन्द भओ खाए खाएनन् ? काम नपाउँदा कसरी बाँचे ? बन्दले यिनका केटाकेटीलाई कस्तो असर पारो भनेर कस्ले सोंचो र ? अब यतै बिमार परियो भने हाम्रा लागि को छ र ? न अस्पताल । न डाक्टर । हामी गरिबले त सपना देख्नी मात्र हो । पुरा हुन्नन् । अरुका सपना पुरा गर्दिनी मात्रै हो बाबै । अब भने रनेले फटाफट काम भ्याउँछ । सर काम भ्याएँ । जाउँ कि हजुर । ए लौ एकै घण्टामा सकेछौ त । लौ यो दुई सय । हेरन खुल्ला नि रैन्छ । काम पनि त थोरै रैछ । फेरी फेरी मिलाम्ला नि । उ अक्क न बक्क पर्छ । सयको दुईटा नोट च्याप समाउँछ र केई नबोली सरासर आफ्नो बाटो लाग्छ ।