बाहुन भित्र जातीय विभेदको विकराल अवस्था

बाहुन भित्र जातीय विभेदको विकराल अवस्था

(दुर्गा पंगेनी) पत्र पत्रिकाहरूमा हामीहरू जातीय विभेद र विभेदबाट उन्मुक्तिका धेरै कथाहरू पढ्छौँ । सामान्यतया जातीय विभेद जहिले पनि दलित र गैह्र दलित बिचमा हुने गरेको छ भनेर हामी हरू बुझ्दै आइरहेका छौँ । दलित र गैह्र दलितको बिचमा मात्र नभएर दलित दलित बिचमा र ब्राह्मण ब्राह्मण बिचमा समेत जातीय विभेद रहेको कुरा समेत समाजमा देख्न सकिन्छ । यो विवादले त्यति साह्रो उग्र रूप लिँदैन किनकि त्यो विभेदलाई समाजले एउटा निश्चित नियममा हिँडाएको छ । अर्थात् त्यो विभेद उही वर्गले उही वर्गलाई गर्ने व्यवहार भएको कारण भित्र भित्र त्यस्ता विभेदहरू भए पनि सतह सम्म आइपुग्दैनन् । जस्तै छोई छिटो दलित दलितको बिचमा पनि हुन्छ त्यो कुरा घोर अन्यायको रूप धारण गरेर सतह सम्म आइ पुग्दैन । त्यस्तै गरेर जातीय विभेद ब्राह्मण ब्राह्मण बिचमा पनि हुने गरेको छ त्यो कुरा पनि सामाजिक बहसको विषय कहिल्यै बन्दैन।

बाहुन भित्र जातीय विभेदका किसिम:

बाहुन मुख्यतया तिन किसिम का हुन्छन् – उपाध्याय, ज्योतिषी (जैसी) र कुमाई ।

उपाध्याय : उपाध्याय हरू आफू लाई सर्वोत्कृष्ट ब्राह्मण ठान्दछन् किनकि कुनै उपाध्यायले अलिकति उचनिच काम गर्‍यो भने उ सिधा जैसीमा झर्ने निश्चित हुन्छ । एक पटक जैसीमा अवतरण भएको उपाध्याय पुनः पुरानो स्थानमा कदापि फर्कन सक्दैन । कुनै यज्ञ या कुनै पूजा अथवा कुनै तीर्थाटन गरेर गुमेको उपाध्याय तहको “भात” फर्काएर ल्याउन सकिन्न त्यसैले उपाध्यायहरू सर्वमान्य ब्राम्हणहरु हुन् ।

कुन आधारमा उपाध्याय बाहुन जैसीमा झर्छ त ? कुरा साधारण छ । एक जना उपाध्यायले जैसी खानदानमा बिहे गरेमा उ स्वतः जैसीमा घटुवा हुन्छ । विधवा बिहे गरेमा अथवा अर्काकी सधवा श्रीमती भगाएर बिहे गरेमा एउटा उपाध्याय सोझै जैसी बाहुनमा झर्ने चलन छ । यसरी उपाध्यय बाट जैसी हुनु लाई जाति च्युत हुनु भनिँदैन यो ‘भातिच्युत’ हुनु हो । भान्छा छुन नपाउनु, उसले पकाएको दाल भात लगायत खान्की नचल्नु इत्यादि ‘झर्नु’ का सजाय हुन् । त्यसरी भातबाट झरेका हरूलाई घरबाट निकालिँदैन तर हाडनातामा करणी लिनु दिनु लगायतका जघन्य बापत लागेको खण्डमा सात डाँडा कटाउने पुरानो प्रचलन छ । अहिले बढ्दो अन्तरजातीय विवाह र प्रेम विवाहको कारण ‘उपाध्याय बाहुन हरू लोपोन्मुख’ अवस्थामा पुगेका छन् ।

ज्योतिषी (जैसी): ब्राह्मण भित्रको सबै भन्दा फैलिँदो अवस्थामा रहेको समुदाय भनेको जैसी समुदाय हो । जसै प्रेम विवाहको प्रचलन बढ्दै गयो त्यही समय देखि जैसी हरूको सङ्ख्या पनि लगातार बढिरहेको छ । जैसीहरू पनि “भातिच्युत” भएर ‘तल्ला भाते’ अथवा ‘छेत्री’ हुने सम्भावना रहन्छ । एक जना जैसी छेत्री तहमा घटुवा हुनलाई छेत्री या वैश्य वर्णमा विवाह गरेको अवस्था हुनु पर्दछ । मतलब जैसी बाहुनले छेत्री बिहे गरेमा त्यो भन्दा पछिल्लो पिँढी स्वतः छेत्री बन्छ नत्र जतिसुकै पटक बिहे गरे पनि विधवा या अर्काकी श्रीमती बिहे गरे पनि जैसी जैसी नै रहन्छ । बरु जैसी भित्र पनि विभिन्न “उपभात” हरू हुन्छन् । हरेक पटकको गल्ती सँगै एउटा जैसी आफ्नै समुदायको ‘उपभाते बाहुन’ या ‘नयाँ भाते बाहुन’मा घटुवा हुँदै जान्छ । भोज भतेर हरूमा भान्छाको लहरै राखिएका ‘पिर्का’ हरूले कुन स्तरको जैसी हो भन्ने निर्धारण गर्दछ । ससुरालीमा समेत कुनै ज्वाइँ नयाँ भाते परेको खण्डमा भान्साको आसनमा विभेद गरिन्छ । पुराना जैसीको दिदी या बहिनीले गलत ठाउँमा बिहे गरेर ‘नयाँ भाते’ सन्तान जन्माएपछि मावलमा भान्जा भान्जी या नातिनातिना हरूले आफ्नै मामाको भान्छा छुन पाउदैनन ।

जैसीमा सबै भन्दा माथि ‘पुराना जैसी’ भन्नेहरू हुन्छन् । पुराना जैसीलाई ‘भागवत वाचन’ गर्ने देखि लिएर चौकीमा गणपति बस्ने सम्मका अधिकार प्राप्त हुन्छन् । त्यस्ता पुराना जैसीहरू स्याङ्जा, पाल्पा, पर्वत, कास्की र तनहुँ तिर पाइन्छन् । ती पुराना जैसी हरूले आफूलाई उपाध्याय कै हाराहारीको ब्राह्मण भएको बताउँछन् । उनीहरू उपाध्यायहरू सँग बिहेवारि गर्दैनन् किनकि उपाध्याय कि छोरी ल्याए पछि स्वतः भात एक तह घटेर उनीहरू “नयाँ जैसी” हुन्छन् । नयाँ जैसी हुनु भनेको पुराना जैसीले छोरी नदिनु, भागवत पाठ गर्न नपाउनु, गणपति बस्न नपाउनु र पुराना जैसीको हाराहारीमा भान्छामा सँगै बसेर भोजन गर्न नपाउनु हो तसर्थ पनि पुराना जैसीले हतपती उपाध्याय खानदानमा बिहे गर्दैनन् ।

बिहेवारिको मामलामा पुरानो जैसी लाई पुरानै जैसी चाहिन्छ । न उपाध्याय चल्छ न नयाँ भाते जैसीहरू नै  चल्छ । बिहे गराउन निकै कठिन र गाह्रो छ पुराना जैसी लाई । उपाध्याय जस्तै यो पुरानो जैसी भन्ने “भात” पनि एकदम घट्दो क्रममा रहेको देख्न सकिन्छ । अलिकति कतै तलबितल पर्‍यो कि ‘पुरानो जैसी’ पद एकाएक खोसिएर कति बेला एक जना चोखो जैसी बाहुन नयाँ भाते बन्न पुग्छ थाहै हुँदैन ।

बिचका जैसी: बिचका जैसी भन्नाले उनीहरू ल्याइताका सन्तान पनि होइनन्, विधवाका सन्तति पनि होइनन् तर पुराना जैसी पनि होइनन् । तिनीहरूले सधैँ पुरानो जैसी कि छोरी बिहे गर्न र पुरानो जैसीको छोरालाई छोरी दिने प्रयत्न गरिरहेका हुन्छन् । कतै एक ठाउँमा त्यसरी बिहे गर्न सकियो भने त्यही नातालाई आधार बनाएर आफू पुरानो जैसी भएको प्रमाण पेस गर्न पाइन्छ भन्ने आशाले आफू पुरानो जैसी हुने जुक्ति सोचिरहन्छन् तर उनीहरू कसरी बिचका जैसी भएका हुन भन्ने खास प्रमाण भेटिन्न । कतै झुक्किएर ‘तल्लो भात’ मा बिहे गरेको रहेछ भने त्यो कुराको प्रमाण फेला पर्न सक्छ । नत्र उनीहरूको ‘भातको स्तर’ भनेको किम्बदन्तीले तय गर्ने कुरा हो । नौ पुस्ता अगाडीको कुनै बाजेलाई छिमेकी बज्यै सँग लसपस गरेको हल्ला चलेको रहेछ तर प्रमाणित भएको रहेनछ भने तिनी बाजेका सन्तानहरू ‘बिचका जैसी’ भएर रहन्छन् । हल्लाले मात्र “भातिच्युत” हुनुपरेको पिडा बिचका जैसीहरूले बिहे इतरका समयमा निकै भोग्नु परेको देख्न पाइन्छ ।

नयाँ भाते जैसी: बिचका जैसी पछाडि विधवा बिहे गरेर जन्मेका सन्ततिहरूको नयाँ जैसीको रूपमा स्थान सुरक्षित गरिएको हुन्छ। सधवा स्त्रीको दोस्रो बिहे गरेर जन्मेका सन्तान लाई भन्दा विधवा बिहेले पछि जन्मेका सन्तानको ‘भात’ले माथिल्लो स्थान पाएको छ जैसी समाजमा । जैसी बाहुनहरूको दोस्रो विवाह लाई नजिक बाट नियाल्दा विधवा विबहा बाध्यता हो भने सधावाको दोस्रो विवाह चरित्र सँग जोडिएको कुरा हो भन्ने मान्यता रही आएको देख्न सकिन्छ ।

ल्याइते पट्टिका जैशी: जस्तै विधवा स्त्री र कुमार केटाको सम्बन्धबाट सुरु भएको “भात” हो भने त्यहाँ स्त्रीको चरित्रमा खोट लगाइँदैन । विधवा स्त्री र विदुर पुरुष बिचको कुरा हो भने पनि एकै कुरा हो तर सधवा स्त्रीले एक लोग्ने छाडेर अर्को सँग बिहेगरि गएपछि जन्मेर सुरु भएका जैसी हरूको भात अलि तल्लो स्तरको मानिन्छ त्यसैले पुरानो जैसी भात र बिचको जैसी भात मुनिको तेस्रो स्थान विधवा बिहेबाट सुरु भएको ‘नयाँभात्’ को लागि सुरक्षित गरिन्छ तर विधवा स्त्री एक पटक बिहे गरी सधवा भइसकेर फेरी तेस्रो स्थानमा बिहे गरी तेस्रो पुरुष सँग जन्मेका सन्तानको हकमा उनीहरू ले यो स्थान पाउदैनन । उनीहरू ‘सधवा ल्याइते’ भन्दा तलका जैसी हुन्छन् ।

ल्याइते समूहमा पनि व्यापक विविधता रहेको पाइन्छ । ल्याइते भित्र पनि बिहे नगरेको कुमार केटाले अर्काकी श्रीमती ल्याएर जन्मेका सन्तानहरू ल्याइते समूहको शिर्षस्थानमा रहन्छन् त्यसपछि क्रमशः विवाहित पुरुषले विवाहित स्त्री ल्याउनु, अथवा पटक पटक पुरुष फेरेकी स्त्री लगायत हरेक पटकका सामाजिक दोषका आधारमा तिनी हरूको भात निर्क्योल हुने गरेको छ।

अचम्मको कुरा त के छ भने जैसी बाहुनको यौटै घर भित्र पुरानो जैसी, बिचका जैसी, नयाँ जैसी, ल्याइते, ब्याईते सबै किसिमका जैसीहरू भेट्न सकिन्छ । यौटै मान्छेका सन्तान जेठी श्रीमती तर्फबाट जन्मेको पुरानो जैसी, माइली तिरका बिचका जैसी, कान्छी तिरका नयाँ जैसी र ब्याईते ल्याइते समेत समेटिन सक्ने विशिष्ट खुबी सहितको हुन्छ जैसी परिवार । जहाँ बुढाहरू आफ्नै श्रीमतीले पकाएको समेत खादैनन, भान्छा समेत अलग अलग हुने गरेको देख्न सकिन्छ । यदि भान्छा यौटै रहेछ भने पनि पकाउने खाने समय फरक फरक हुन्छ । जैसी बाहुनका अरू पनि धेरै हाँगाबिँगाहरू रहेका हुन्छन् त्यसलाई अझै मिहिन रूपमा केलाउनु जरुरी देखिन्छ ।

कुमाई बाहुन: भनेको कतै बाट भातिच्युत नहुने, जो सँग विवाह गर्न पनि मिल्ने र उपाध्याय हौँ भनेर दाबी गर्न पनि मिल्ने भएको कारण कुमाई बाहुन हरू “ओ पोजेटिभ” समूहमा पर्दछन् भनेर व्यङ्ग्य पनि गर्ने गरिएको देख्न पाइन्छ । कुमाईहरु जैसी बाहुन सँग बिहेवारि गर्दैनन् र उपाध्याय हरूले कुमाईलाई छोरी दिदैनन । कथंकदाचित कुमाईको जैसी खानदानमा बिहे भए त्यसपछि हुने जायजन्म कुमाई नै हुने गरेको र उपाध्यायमा बिहे गरे पनि कुमाई नै हुने सामान्य प्रचलन रहेको देख्न सकिन्छ ।

जातीय विभेदको कुरा उठ्दा सजातीय विभेदलाई पनि एक किसिमको कुरीति अन्तर्गत नै परिभाषित गरिनु पर्दछ। ब्राह्मण भित्रको जातीय विभेदको रूपमा रहिआएको कुरीतिको कारण नयाँ पुस्ता र पुरानो पुस्ताको बिचमा गम्भीर समस्या हरू देखिने गरेको छ । बिहेवारिको कुरामा नयाँ पुस्ता गोत्र, भात, खानदान लगायत कुराहरूमा अनभिज्ञ रहे पनि पुरानो पुस्ता यो कुरालाई सजिलै छोड्न सक्ने अवस्थामा रहेको छैन।

(दुर्गा पंगेनीको पुरानो ब्लग समयसान्दर्भिकता हेरी पुन प्रकाशन गरियको छ । – सम्पादक)