बाजुरा, १८ जेठ । बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी दुई वर्षीया बालिकाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो ।
उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ । आमालाई बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनका बुवाको भने रिपोर्ट नेगेटिभ रहेको अवस्थीले बताउनु भयो ।
बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।
उनीहरु एक साताअघि भारतको नयाँदिल्लीबाट आएका थिए । बालिका बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालिका आफ्ना बाबुआमासँगै थिइन् । बालिकासहित आमाबुवाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । अवस्था जटिल भएपछि उनलाई मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालिका पखाला, ज्वरो र श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् । ‘अवस्था निकै चिन्ताजनक रहेको र बचाउन नसकिएको’ उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।यसअघि शनिबार राति डडेलधुरामा पनि क्वारेन्टाइनमा एक जना ६ वर्षीय बालकको मृत्यु भएको थियो ।