बन्दाबन्दीमा स्थानीय तहको भूमिका

बन्दाबन्दीमा स्थानीय तहको भूमिका

( अविनाश पन्थी )

कोरोना वाईरस (COVID-19) को विश्वव्यापी महामारी र नेपालमा हाल दोस्रो तहको संक्रमण देखा परिसकेको अबस्थामा नेपाल सरकारले मिति २०७६/१२/२५ बाट लागू हुने गरी थप एक हप्ताका लागि बन्दाबन्दी (Lockdown) को घोषणा गरेको छ ।
तेस्रो हप्ता/चरणको बन्दाबन्दीमा स्थानीय तहको भूमिका –
 व्यक्ति व्यक्ति विचको सम्पर्क र अन्तरघुलन कम गर्न वडा कार्यालयले पहल गरी टोल तथा बस्तीस्तरमा नै बन्दाबन्दी (Lockdown) लाई अझ कडाईकासाथ पालना गर्न लगाउने,
 आफ्नो कार्यक्षेत्रमा खटिई सेवा प्रदान गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत राष्ट्रसेवकलाई आबश्यक सुरक्षा सामग्रीको उचित प्रबन्ध मिलाउने,
 अत्यावश्यक औषधिको प्रबन्ध मिलाई नियमित औषधि सेवन गर्ने दीर्घ रोगीको अबस्थाबारे जानकारी लिने व्यबस्था समेत मिलाउने,
 स्थानीय तहभित्रका एम्बुलेन्सलाई पूर्ण तयारी अबस्थामा राख्ने र परेको बेला आबश्यक स्वास्थ्य सूरक्षासहित परिचालन गर्ने,
 गृह क्वारेन्टीन वा सामूहिक क्वारेन्टीनमा बसेका  व्यक्तिमा कोरोना वाईरससँग सम्बन्धित कुनै लक्षण देखिएमा स्वाब परीक्षणको लागि नेपाल सरकारले स्थापना गरेको नजिकको कोरोना परीक्षण प्रयोगशाला वा आईसोलेशन वा द्वितीय र तृतीय तहका स्वास्थ्य संस्थामा पठाउने व्यबस्था मिलाउने,
 स्थानीय तहको खाद्यान्न बैंकमा कम्तीमा दुई हप्ता (१५ दिन) का लागि पुग्ने खाद्य बस्तुहरुको संचिती व्यबस्था मिलाउने,
 यस चरणमा गरिने राहत खाद्यान्न वितरण कार्यलाई घर घरमै पुर्याउने प्रबन्ध मिलाउने,
 आम नागरिकका लागि बजार आपूर्ति नियमित गर्न सकेसम्म सम्बन्धित वडा र टोलभित्र मात्र सिमित हुने गरी पसल खोल्ने र सुरक्षित तवरले खाद्यान्न बिक्री वितरणको व्यबस्था मिलाउने,
 अनावश्यक रुपमा एकै पसलमा भिड गर्न नदिन, अत्यधिक आवतजावतमा कमि ल्याउन कम्तीमा एक हप्ताको लागि आबश्यक पर्ने खाद्यान्न र दैनिक उपभोग्य बस्तुको किनमेल गर्न अनुरोध गर्ने,
 आवश्यक स्थानहरुमा सरोकारवाला (स्थानीय उद्योग बाणिज्य संघ, बजार व्यबस्थापन समिति, स्थानीय व्यापारी/व्यावसायी) सँग समन्वय गरी सुपथ मूल्य पसल सञ्चालनको व्यबस्था मिलाउने,
 मर्निङ वाक र ईभिनिक वाकका नाममा हुने जमघटको रोकथामका लागि सम्बन्धित सबैमा अनुरोध गर्ने,
 नियमित रुपमा स्थानीय सञ्चार माध्यम, कार्यालयको वेभ साईट, फेसबुक पेज, ट्वीटर जस्ता आम सञ्चारका माध्यमबाट नागरिकलाई सन्देशमुलक जानकारी, कोरोना रोकथामका विषयमा भए गरेका कार्य, नेपाल सरकारबाट जारी भएका सूचना, निर्देशन र राहत संकलन एवं ?वितरण सम्बन्धी अद्याबधिक सूचनाहरु प्रकाशन प्रसारण गर्ने ।

अविनाश पन्थी
गैडाकोट-१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)