फिल्म समीक्षा – प्रेमगीत २

फिल्म समीक्षा – प्रेमगीत २

काठमाडौं : म्यानमारमा गोर्खालीलाई श्रद्धाञ्जली दिने दृश्यबाट सुरु हुन्छ फिल्म प्रेमगीत २ को कथा। दृश्यमा दिइने भाषणले एउटा कथा बोल्छ जसलाई दृश्यमार्फत् देखाउने कष्ट गरेनन् पटकथा लेखक तथा निर्देशक रामशरण पाठकले। हरेक कथाभित्रका पृष्ठभूमिलाई दुई घण्टा लामो फिल्ममा अटाउन सम्भव पनि हुँदैन सायद। त्यसैले फिल्मभर नेपाल र म्यानमारमा रहेका नेपाली भाषीहरुको भावनात्मक सम्बन्धको महत्व व्याख्या गर्न संवादकै प्रयोग गरेका छन् रामशरण पाठकले।

कथा हो प्रेम (प्रदिप खड्का) र गीत (अश्लेषा ठकुरी)को प्रेमको। सँगै फिल्मले सन् १९४५ को दोस्रो विश्वयुद्दको असरलाई पृष्ठभूमिमा राखेको छ। जहाँ प्रेम नेपाली युवक हो र गीत म्यानमारकी नेपाली भाषी युवती जसले आफूलाई नेपाली भन्न रुचाउँछे। नेपाल घुम्ने सपना पूरा गर्न घरबाट भागेर आएकी गीतले प्रेमलाई भेट्छे। उसैले गीतलाई नेपाल घुमाइदिन्छ। र पछि प्रेमलाई थाइल्यान्डसम्म डोर्‍याउँछे गीतले। यसैबीच सिर्जना हुने अवस्थाहरु फिल्मको मुख्य विषय हो।

वर्मादेखि मुर्मासम्मको यात्रा क्रममा मुख्य दुई पात्र मायामा पर्छन्। तर कसरी नजिकिन्छन् र केले एकअर्काप्रति त्यसरी आशक्त बनाउँछ भन्ने कुरा बुझाउन निर्देशक चुकेका छन्। न पात्रले प्रेममा पर्नुको कारण प्रस्ट्याउँछन् न दृश्यले दर्शकलाई बुझाउँछ। उनीहरु सजिलै मायामा पर्छन् र एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुग्छन्- जसलाई आम भाषामा आकर्षणको संज्ञा दिइन्छ। क्लाइमेक्समा प्रेम गीतको लागि कुस्ती गर्न तयार हुन्छ। परिवार भुलेर ऊ गीतको लागि मर्न तयार हुन्छ। फिल्मको क्लाइमेक्स प्रेम प्राप्तिको होडले निम्त्याएको अवस्था हो। तर त्यसअघिका कुनै पनि प्लट बलिया छैनन्। जसले दुई बीचको प्रेमलाई त्यति बलियो साबित गरोस्।

अन्तरदेशीय प्रेम। फरक कथा छ फिल्ममा। तर लेखक पटकथालाई बलियो बनाउन भन्दा कथाकै आवरण टल्काउन लागि परेको भान हुन्छ। फिल्मको संवादहरुले दर्शकलाई बाँध्छ। उस्तो ठूला घटनाहरु घट्दैनन् तर हँसाएर पात्रहरुसँगै डोर्‍याउन भने सफल छन् लेखक।

अभिनयमा मुख्य पात्रहरुले नै न्याय गरेनन्। प्रदिपले प्रयास गरेका छन्। तर पहिलो संस्करणभन्दा बढी अपेक्षा गर्नेलाई उनले निराश बनाएको पक्कै हो। फिल्मको दोस्रो संस्करणमा आइपुग्दा पनि उनीमा फरकपन र निखारता देखिंदैन। अश्लेषा ठकूरीको अभिनय मुख्य अभिनेत्रीको भन्न सुहाउँदैन। उनको अभिनय धेरै नाटकीय र कच्चा लाग्छ। डायलग डेलिभरी पनि फितलो छ। डेब्यु फिल्ममा भएपनि शीर्ष भूमिकामा रहेपछि निभाउन पर्ने जिम्मेवारीबाट अश्लेषा टाढा छिन्। अभिनयको हकमा सह पात्रहरुमा प्रेमकी आमा र गीतकी हजुरआमा बनेका पात्रहरु बाहेकको अभिनय सशक्त मान्न सकिंदैन।

निर्माताको रुपमा सन्तोष सेनले कुनै कञ्जुस्याई नगरेको प्रस्ट हुन्छ। नेपालको पोखरा, मुगुदेखि थाइल्यान्ड र म्यानमारसम्म कास्ट एण्ड क्रुलाई लिएर गएका छन्। तर त्यसको प्रयोग गर्न निर्देशक असफल रहे। देशविदेशको सुन्दर दृश्यहरु पृष्ठभूमिका रुपमा सतही रुपमा प्रयोग भएको छ। सेनले फिल्मबाट अभिनयमा पनि डेब्यु गरेका छन्। उनले आफ्नो चरित्रलाई न्यायपूर्ण ढङ्गमा निभाउने कुशल प्रयास गरेका छन्।

प्रेम, संगीत, एक्शन, सस्पेन्स, कमेडी- प्रेमगीत मसालेदार छ जसमध्ये संगीत र एक्शन दर्शकले रुचाउन सक्छन्। किनकि फिल्मका यी दुई पक्षले दर्शकलाई पात्रको संवेदनासँग इन्गेज तुल्याउँछ। उसो त फिल्म प्रदर्शनअघि नै फिल्मको गीतहरुले प्रचारको राम्रो काम गरेको थियो। थप क्लाइमेक्सको एक्सन सिनका फोटोहरु लिक भएको हल्लाले फिल्मका के के न ट्विस्ट होला भन्ने कौतुहलता रहेको थियो। तर क्लाइमेक्सले पनि त्यसरी नै सरल ढङ्गमा ठाउँ लिन्छ जसरी अन्य घटना घट्छन्। अझ अङ्गद पात्रले संवादमार्फत् घटनाको ‍औचित्य बुझाउनुले निर्देशकले अल्छी गरेको प्रस्ट हुन्छ।

फिल्मको सिनेम्याटोग्राफी, पार्श्व संगीत, लोकेशन चयन र सम्पादन आकर्षणको केन्द्र हुन्। फरक कथा, कथालाई न्याय नगर्ने पटकथा, टेक्नोलोजीको भरपूर प्रयोग र कलाकार चयनको कमजोरी- फिल्म औसत बनेको छ।