प्रहरीको कुटाइ खाएका डाक्टर भन्छन्ः लाठीले डाक्टर चिन्दैन भन्दै भकुरे, प्रहरी भन्छ : छानविन समिति गठन भयको छ गल्ती भेटिय कारबाही गर्छौ

प्रहरीको कुटाइ खाएका डाक्टर भन्छन्ः लाठीले डाक्टर चिन्दैन भन्दै भकुरे, प्रहरी भन्छ : छानविन समिति गठन भयको छ गल्ती भेटिय कारबाही गर्छौ

त्रिवि शिक्षण अस्पतालका महाराजगञ्जमा कार्यरत डा. विकास शाह, शम्भु खनाल र तेजप्रकाश शाह १२ घण्टा ड्युटी सकेर बुधबार साँझ घर फर्कंदै थिए ।

उनीहरू कान्ति बाल अस्पताल पछाडि बस्छन् । टिचिङमा काम गर्छन् । ड्युटी पनि एउटै समयमा छ ।

बिहानै निस्कने, दिउँसो ४ बजेपछि एकछिन आराम गर्ने । बेलुका ८ बजे ड्युटी सकेर हस्पिटलमा नै खाना खाएर वासस्थान फर्कने उनीहरूको दैनिक कार्यतालिका छ । भेट्दा हाइ र छुट्दा बाइ सधैँ चलिरहन्छ ।

बुधबार बेलुका करिब सवा ८ बजेको थियो । हस्पिटल र कोठाबीचको दूरी लामो छैन । सबैभन्दा पहिले डा. विकासको कोठा पुगिन्छ ।

कोठा अघि पुगेपछि उनी अडिए र साथीहरूलाई बाइ भन्दै थिए । एक्कासि प्रहरीको भ्यान आयो । ‘लकडाउन किन उल्लङ्घन गरेको ?’ भनेर सोध्यो ।

डा. विकासले जवाफ फर्काए, ‘हस्पिटल गएर आएको । हामी टिचिङ अस्पतालका चिकित्सक हौँ ।’

उनीहरूले परिचयपत्र पनि देखाए र तर लकडाउन उल्लङ्घन गर्ने भन्दै प्रहरीले एक्कासि लाठी बर्साइहाले ।

प्रहरी जाइलागेपछि चिकित्सकहरूले भने, ‘कम्तीमा अस्पतालमा काम गरेर फर्किएका चिकित्सक हौँ, सम्मान गर्नुहोस् ।’ शम्भु खनालका अनुसार प्रहरीको जवाफ फर्कियो, ‘प्रहरीको लाठीले डाक्टर चिन्दैन ।’

१२ घण्टा काम गरेर बेलुका लाठी पाउने डा. खनाल भन्छन्, ‘कुटाइ पनि खाइयो, डाक्टरलाई लाठीले चिन्दैन भन्ने जवाफ पनि पाइयो, निकै नरमाइलो लाग्यो ।’

उनीहरू तीनै जना लेवल ३ कोभिड अस्पतालको रूपमा तोकिएको आईओएममा कार्यरत छन् ।

प्रहरीले लाठी चार्ज गरेको विषयमा आवासीय चिकित्सक संघले आपत्ति जनाएको छ । संघले सङ्कटको समयमा ज्यान जोखिममा राखेर काम गर्ने डाक्टरहरूमाथि लाठी चार्ज गर्ने प्रहरीमाथि छानविन गरी कारबाही गर्न माग गरेको छ ।

तीन सदस्यीय छानविन समिति

प्रहरीले डाक्टरहरु माथि नै लाठी चार्ज गरेको समाचार सार्वजिक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले तीन जनाको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

समितिमा रानीपोखरीका एसएसपी किरण बज्रचार्या, अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको हो ।

समितिका सदस्य डीएसपी बोगटीका अनुसार घटनाबारेमा छानविन सुरु भएको छ । हामीले घटनाको बारेमा हिजो रातिनै महाराजगञ्ज प्रहरी वृत्तमा पुगेको पनि घटना बारे बुझिसकेका छौं ।

‘आज थप अनुसन्धान गर्छौ । प्रहरीले कमजोरी देखिए कारबाही हुन्छ,’ बोगटीले भने ।