पुर्वाधार विकास कोषले सांसदको हैसियत वडाअध्यक्षको जस्तै बनायोः गगन थापा

पुर्वाधार विकास कोषले सांसदको हैसियत वडाअध्यक्षको जस्तै बनायोः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गर्नुभएको छ । स्थानीय पूर्वाधार विकासका नाममा योजना छनोट गर्ने गरी बजेट लिने अध्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उहाँको भनाई थियो ।

शनिबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थाल्नु गलत भएको भन्दै स्थिति पहिलाको भन्दा बिग्रिएर सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको बताउनुभयो ।

उहाँले सांसद विकास कोष बन्द गर्नुुपर्ने भन्दै कुनै पनि खराब अभ्यास हटाउनुपर्छ भनेर गुनासो गरेर मात्र नहुने र साँच्चिकै बदल्न चाहने हो भने केही अभ्यास बदल्नु पर्ने, कानुन बदल्नुपर्ने र त्यसको प्रारम्भ वडाध्यक्ष भएर होइन, विधायक भएर गर्नुपर्ने बताउनुभयो । यो कोषलाई यो पटकको बजेटबाट हटाउनका निम्ति सरकारले तयारी थाल्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो,‘बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको हो । बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भुमिका के ? हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ ?,’ हामी मन्त्रीको ढोकामा दौडियौं, कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौं । यसबाट वडअध्यक्ष जस्तो पैसा लिन थाल्यौ । पहिलेको भन्दा स्थिति झन बिग्रियो । हाम्रो हैसियत अहिले वडाअध्यक्षको जस्तो भएको छ ।’