नेपालमा कोरोना देखिएको ९३ दिन, ५ प्रदेशका ११ जिल्ला ४९ मा संक्रमण

नेपालमा कोरोना देखिएको ९३ दिन, ५ प्रदेशका ११ जिल्ला ४९ मा संक्रमण

नेपालमा हालसम्म ११ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । कतिपय जिल्लामा त्यस जिल्लामा स्थायी बसोवास गर्ने नागरिक नरहे पनि जुन क्षेत्रमा बसोवास गर्दा कोरोना पोजिटिभ देखिएको छ, त्यसैलाई गणना गरिएको छ ।

नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा देखिएको थियो । चीनबाट आएका १ युवकमा पहिलो संक्रमण देखिएको थियो । उनी अहिले निको भएर घरमा फर्किसकेका छन् ।

संक्रमण देखिएको ९३ दिनको अवधिमा नेपालमा ४९ जना संक्रमित देखिएका छन्, जसमा सबैभन्दा धेरै उदयपुरमा २८ जना छन् ।

त्यस्तै, प्रदेश १ को झापामा १ र भोजपुरमा १ जना संक्रमित भेटिएका छन् ।

प्रदेश २ को धनुषा १, पर्सामा ३ र रौतहटमा १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

वागमती प्रदेशको काठमाडौंमा ५ र चितवनमा २ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौंमा ५ मध्ये अहिले सबै जना ठीक भएका छन् ।

प्रदेश ४ को बाग्लुङमा २ जना संक्रमित रहेका छन्, दुबै जना निको भएर घरमा फर्केका छन् ।

सुदूरपश्‍चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्, जसमा कैलालीमा ४ र कञ्चनपुरमा १ जना संक्रमित रहेका छन् । कञ्चनपुरमा १ र कैलालीका ३ जना निको भएर घरमा फर्किसकेका छन् ।

हालसम्म नेपालमा करिब १० हजार जनामा कोरोनाको परीक्षण गरिसकिएको छ । सरकारले कोरोनाको फैलावट रोक्नका लागि ११ चैतदेखि लकडाउन लगाएक‍‍ो छ । अहिले १५ वैशाखसम्मका लागि लकडाउनको समय तोकिएको छ ।