बेलायतका तर्फबाट दोस्रो विश्वयुद्ध लडेका अल्बर्ट चेम्बर्स ९९ वर्षका छन्। तीन साताअघि लडेर नाडीमा चोट लागेपछि उनलाई डोनक्यास्टरको टिक्हिल रोड अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमै हुँदा अल्बर्टमा कोरोना भाइरसका लक्षण देखिन थाले। परीक्षणपछि कोरोना संक्रमण पुष्टि भयो।
दुई दशकअघि श्रीमतीको निधनपछि अल्बर्ट एक्लै बस्दै आएका छन्। कोरोना संक्रमणले परिवारका सदस्य आत्तिएका थिए। तर उपचारमा संलग्न डाक्टर-नर्सहरूलाई समेत चकित पार्दै अल्बर्टले कोरोनालाई जितेका छन्। उनी स्वस्थ भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
डिस्चार्ज हुने दिन अल्बर्टलाई ‘गार्ड अफ अनर’ सँगै सम्मान गरिएको एक भिडियोमा देख्न सकिन्छ। त्यो भिडियो राष्ट्रिय स्वास्थ्य सेवा नर्थइस्ट र योर्कसियर स्वास्थ्य ट्रस्टले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्।
‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद। म तपाईंहरूप्रति कृतज्ञ छु। योभन्दा बढी कसैले राम्रो गर्न सक्दैन थियो होला,’ भिडियोमा अल्बर्टले एक नर्सलाई भनेका छन्।
अल्बर्टका ४९ वर्षीय नाति स्टिफन गेटरले सिएनएनलाई भनेअनुसार कोरोना संक्रमणको खबरसँगै परिवारका सबै सदस्य चिन्तित थिए। तर अल्बर्टको धैर्य र आत्मविश्वासले आफूहरू आशावादी रहेको उनले बताए।
99-year-old Albert Chambers left Tickhill Road Hospital at @rdash_nhs yesterday, after recovering from #coronavirus. He shared his thanks to the brilliant staff who looked after him during his stay. Thank you Albert — this has made our week. 💙 pic.twitter.com/yxqENbRqa6
— NHS England and NHS Improvement (@NHSEngland) April 10, 2020
विश्वयुद्ध बेला अल्बर्ट उत्तर अफ्रिकामा थिए। त्यहाँ बम बिस्फोटमा घाइते भएपछि विपक्षीद्वारा समातिए। उनलाई उत्तर-पश्चिमी जर्मनीको फलिङबोस्टलमा पुर्याइयो, जहाँ उनले तीन वर्ष कैदीका रूपमा बिताए।
युद्ध समाप्तिपछि उनी सिपाहीका रूपमा लन्डनको रोयल दरबारमा खटिए। ‘सबैले भोगिरहेको कठिन समयबीच सकारात्मक समाचार पाउँदा खुसी लागेको छ,’ अल्बर्ट कोरोनाबाट निको भएको खबरमा खुसी व्यक्त गर्दै नाति स्टिफनले भनेका छन्, ‘उनले कोरोनालाई पराजय गरे, यो आश्चर्यजनक पनि छ।’
स्टिफनका अनुसार अल्बर्टको उपचार भएको अस्पतालका कर्मचारी निकै मिलनसार थिए। ‘हामी सबै उनीहरूप्रति कृतज्ञ छौं। अल्बर्ट डिस्चार्ज भएको राति ८ बजे हामी सबैले खुसीमा ताली बजाएका थियौं,’ उनले भने।
स्टिफनका अनुसार अल्बर्टको स्वास्थमा सुधार आउनुका कारण उनले पाएको हेरचाह, सकारात्मक दृष्टिकोण र उनको धैर्य हो।