कोरोना जितेर ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

कोरोना जितेर ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगन्ज । पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । यहाँको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ९६ जना संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले राजधानीसँग बताए ।

डिष्चार्ज हुनेहरुमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष रहेको मेसु उपाध्यायले बताए । पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालमा ७१ र गण्डक अस्पतालमा २५ गरी ९६ जना संक्रमित उपचार गराइरहेका थिए । तिनीहरुमध्ये नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना मध्येबाटै शनिबार ९ जना निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । ९ जना डिस्चार्ज भएपछि नारायणी अस्पतालमा अब ६२ जना मात्र संक्रमित बाँकी रहेका छन् ।

उता नारायणी अस्पताल कै नामले संचालित गण्डक अस्पतालमा रहेका २५ जना संक्रमित भने अहिलेको डिस्चार्जको सूचीमा नपरेको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा वीरगंज महानगरपालिका वडा नं. २, का ३० बर्षीय, वडा नम्बर ३ का ५० बर्षीय वडा नम्बर १६ का ५१ बर्षीय पुरुष छन् ।

त्यसै गरी बाराको सिम्रौनगढ ४ का ३१ बर्षीय, जितपुर सिमरा १ का ४३ बर्षीय पनि पुरुष नै रहेका हुन् । शनिबार डिष्चार्ज हुनेहरु रौतहट गुजरा नगरपालिका ५ का ३५ बर्षीय, इशनाथ नगरपालिकाका १९ बर्षीय, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र तथा ४२ बर्षीय एक भारतीय पनि पुरुष नै रहेका छन् । डिस्चार्ज हुनेहरु मध्ये दुई जना गएको बैशाख १४ गते डिष्चार्ज भई पुनः बैशाख २१ गते भर्ना भएकाहरु मध्ये रहेको अस्पतालले खुलासा गरेको छ ।

वीरगन्जमा डिस्चार्ज भएका ९ सहित कोरोनालाई जितेर अहिलेसम्म नेपालभर डिस्चार्ज हुनेको संख्या ७९ पुगेको छ ।