कोरोना भाइरस (कोभिड–१९)को भ्याक्सिन पत्ता नलागेसम्म विश्वभर भइरहेको लकडाउन पूर्ण खुला गर्न नमिल्ने एक अध्ययनले जनाएको छ । चीनको महामारीलाई आधार मानेर गरिएको यो अध्ययनको नतिजा मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ ।
‘यद्यपी, शारीरिक दूरी र व्यवहारमा ल्याइएको परिवर्तनजस्ता नियन्त्रणका नीति केही समयसम्म अझै कायम रहनेजस्तो देखिन्छ । प्रभावकारी भ्याक्सिन उपलब्ध नभएसम्म नियमित रुपमा आर्थिक गतिविधि सुचारु गर्ने र उत्पादन कम गर्ने विषयमा सन्तुलन राख्नु नै राम्रो रणनीति हो,’ अध्ययनले भनेको छ ।
केवल केही सातादेखि लकडाउन सामना गरिरहेका विश्वका कतिपय देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रण चाडैं खुकुलो गर्नेबारे सोचिरहेका बेला यो अनुसनधान महत्वपूर्ण हुनसक्छ । अर्थविद्हरुले पनि आर्थिक गतिविधि विस्तारै बढाउँदैं लैजानुपर्ने सुझाव दिएका छन्, तर हतार गर्दा जोखिम बढ्ने अध्यननको ठहर छ ।
यसलाई गलत रुपमा लिएर नियन्त्रण पूर्ण हटाउन खोज्दा थप महामारी निम्तने र फेरि कडाई गर्नुपर्ने अवस्था सिर्जना हुने अध्ययनले जनाएको छ । त्यस्तो अवस्था स्वास्थसेवा र अर्थतन्त्रमै विध्वंशकारी हुने अनुसन्धानको निष्कर्ष छ ।
अस्ट्रिया र इटलीमा नियन्त्रण खुकुलो गर्दै विगत केही दिनयता केही पसलहरु खोल्न दिइएको छ । त्यस्तै, जर्मनीले पनि बिस्तारै कडाई कम गर्दै लगेको छ ।
जोखिम कायमै
‘भ्याक्सिन चाडैं पत्ता नलागेसम्म कुनै कारबाही जोखिमरहित र पीडारहित हुने संभावना छैन,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, । चाडैं लकडाउन खोल्दाको असर केही क्षेत्रमा कठोर देखिनसक्ने पनि अध्ययनले जनाएको छ । लान्सेट रिर्पोटको विश्लेषण अनुसार कोभीड–१९ बाट ज्यान जाने जोखिम पनि आर्थिक विकास र स्वास्थ सेवाको पहुँचका आधारमा चीनका फरक भूभागमा फरक छ ।
हुवेइमा मृत्युदर ५ दशमलव ९१ प्रतिशत थियो, यस प्रान्तबाहिरको मृत्युदरको तुलनामा यो झन्डै ६ गुणा बढी हो ।
‘बेइजिङ र सांघाईजस्ता ठूला र सम्पन्न शहरमा पनि स्वास्थ सामाग्री सिमित छन् र माग एक्कासी बढ्दा दिन दिन संघर्ष गर्नुपर्ने अवस्था आउनेछ,’ हङकङ विश्वविद्यालका प्रोफेसर तथा वरिष्ठ लेखक ग्राबियल एम लियुङले लान्सेट रिपोर्ट सार्वजनिक गर्दै भनेका छन्, ‘ कोभीड १९ सँग सम्भाव्य मृत्युलाई कम गर्न स्थानीय स्वास्थ प्रणालीमा पर्याप्त कर्मचारी र स्रोत महत्वपूर्ण छ भन्ने विषय हाम्रो खोजीले हाइलाइट्स गर्न खोजेको छ ।’
उहान शहरमा गत डिसेम्बरमा कोरोना भाइरस देखिएपछि २३ जनवरीदेखि चीनमा मानिस र सामाग्रीको ओसारपसारमा कडा नियन्त्रण राखिएको थियो, यसले मानिसको स्वतन्त्रता र देशको अर्थतन्त्रमा ठूलो असर ग-यो ।
त्यसयता बिस्तारै चीनका केही प्रान्तमा कारखाना र कार्यालयहरु फेरि सुचारु छन् । हुवेई बाहिरका चार शहर र १० प्रान्तमा गरिएको विश्लेषणले नियन्त्रण बिस्तारै खुकुलो पार्दै लैजानुपर्ने अन्यथा आरामको अवधिमा संक्रमण बढ्ने कुरामा जोड दिन्छ ।
‘एकपटक संक्रमितको संख्या बढेपछि हस्तक्षेप वा कडाई गर्दैमा फेरि घटेर पुरानै अवस्थामा नआउन पनि सक्छ,’ अध्ययनको अनुमान छ,‘त्यसका लागि सायद अतिरिक्त प्रयास आवश्यक पर्छ र यसले स्वास्थ क्षेत्र तथा अर्थतन्त्रमा अझै ठूलो असर गर्छ ।’
‘हामी यसप्रति सचेत छौं कि चीनमा आगामी साताहरुमा आर्थिक गतिविधि बढ्दै जाँदा स्थानीय वा आयातित संक्रमण फेरि ब्युतनसक्छ,’ यस रिर्पोटका अर्का लेखक हङकङ विश्वविद्यालयका डाक्टर क्याथी लीउङले भने ।