कोरोनाको उपचार पाउनु अघि भएका दुई मृत्युले के संकेत गर्छ ?

कोरोनाको उपचार पाउनु अघि भएका दुई मृत्युले के संकेत गर्छ ?

कोरोनाले विश्वमा अपेक्षाकृत धेरेको मृत्यु भएको छ । अमेरीकादेखि चीन सम्म भारतदेखि ब्राजिल सम्म । तीन लाख १३ हजार बढी मानिसको चोला अहिले सम्म यो कोरोना भाईरसले उठाईसकेको छ । अझै कतिको लिने हो दिनै पिच्छे हजारौको संख्यामा गणना भईरहेको छ र यसले हाम्रो देश नेपालमा पनि दाह्रा गाड्न शुरु गरेको छ ।
नेपाल सापेक्ष रुपले महिनौ सम्म कोरोनाबाट सुरक्षित नै देखियो । त्यसैले पनि होला शुरुवाती समयमा पर्यटन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोनाको असर छैन घुम्न आउनुस् भनेर विदेशी नागरिकलाई अपील गरेको समाचार आएको थियो । यसको उदेश्य थियो नेपाल पर्यटन बर्ष २०२० सफल पार्ने ।
हुन पनि शुरुवातमा कोरोना संक्रमित नेपालमा ढिलो देखियो । देखिएका पनि सबै प्रायः स्वस्थ्य नै ।
त्यसैले होला चैत्र ११ गतेदेखि भएको लकडाउन बीचमा केही खुकुलो पारीयो । सडकमा मानिसहरुको बाक्लो हिडडुल, गाडीहरुको बाक्लो प्रयोग, उद्योग पसल र कार्यलयहरु पुनः खुल्नु ।
तर अचानक उपत्यकामा कोरोना संक्रमण बृद्धि र अन्य क्षेत्रमा पनि बृद्धि भएसगैँ त्यसमा फेरी कमी आयो । एक लकडाउन कडा पार्नाले । दुई मानिस आफै सचेत भएकाले ।
तर पछिल्लो साता कोरोनाका कारण अत्यन्त दुखदः दुई मृत्यु भयो । पहिलो धुलिखेल अस्पतालमा सिन्धुपालचोककी २९ बर्षे सुत्केरी महिला , दोस्रो बाकेको नैनापुरको क्वारेन्टाईनमा २५ बर्षे युवा ।
यी दुवै त्यस्ता दुर्भाग्यपूर्ण मृत्यु भयो जहाँ उनीहरुलाई कोरोना संक्रमण थियो भन्ने कुरा उनीहरुको मृत्यु पछि मात्रै पुष्टी भयो । अर्थात कोरोनाले मरे तर उपचार भएन ।
यसले हाम्रो स्वास्थ्य प्रणाली र व्यवस्थापनमाथि केही प्रश्न खडा हुन्छ कि हुदैन होला ? अहिले भनिहाल्ने बेला भएको छैन किन भने चुनौतीहरु अझ आउदैछन् ।
तर २३ बैशाखमा सुत्केरी भएकी महिलाको शिक्षण अस्पतालमा त्यो बेला कोरोना परीक्षण पिसीआर बिधिमा भएको थियो कि थिएन ? अनि बाकेमा मुम्बईबाट बैशाख ३० मै आईपुगेका ती युवाको परीक्षण आउनासाथ भयो कि भएन ? अनि उनी बिरामी भए पछि समयमै किन एम्बुलेन्स पुगेन ? अर्कोकुरा सुत्केरी महिलाको मृत्यु पछि पनि उनलाई अस्पतालको एम्बुलेन्सले किन बोक्न मानेन ?

१२ तेह्र बर्षको अन्तरमा दोस्रो सन्तान शायद रहरले जन्माएकी थिईन् , उनी ती प्रिय सन्तान र परिवारसगँ खुसी हुन चाहन्थिन, उनलाई बच्चा जन्मिनु अघि नै कोरोनाबारे थाहा थियो होला शायद, कोरोना जो सुकैलाई हुन सक्छ भन्ने पनि बुझिन् होला तर बिडम्बना आफैलाई कोरोना छ भन्ने थाहा पाउनु अघि नै उनले त्यो भर्खर कोखबाट बारि निस्किएको शिसुलाई छाडेर बिदा हुनु पर्यो, सबैलाई रुवाएर लग्यो कोरोनाले ।

जब नैनापुरको क्वारेन्टाईनमा उनलाई बिरामले च्याप्दै गर्दा शायद उनले अस्पताल छिटो लैजाउ भनेर पुकार गरेको हुनु पर्छ, साथीहरुले पनि छिटो एम्बुलेन्स ल्याउन पर्यो भनेर हार गुहार गरेको हुन सक्छ । तर अफसोच् उनी एम्बुलेन्समा चढ्न पाएनन, जीवन बाचेर आफ्नै देशमा पुगेर रमाउने उनका सपनाहरु कोरोना हो भन्ने थाहै नभई ती २५ बर्षे युवा चितामा जल पुगे । के निरोगी नेपाल भनेको यही हो सरकार ? जनताको स्वास्थ्यको आधारभूत व्यवस्था र तयारी यस्तै थियो ? उनी ३० गते आएको तर शनिबार अर्थात जेष्ठ तीनमा मात्रै स्वाब निकालिएको छ ।

यो के को संकेत हो ? यो संकेत भनेको कोरोनाले मृत्यु पछि पनि दुखः दिने रहेछ भन्ने हो नि ?
हो, हाम्रो देशमा यति महंगा र निजी अस्पतालहरु खुलेका छन् कि एउटा सामान्य परीक्षणको पनि मजदुरले दुई दिनमा मात्रै कमाउने पारीश्रमिक अर्थात एक हजार रुपैया सम्म लिने गरीन्छ , तर तिनै निजी अस्पतालहरु अहिले कोरोनाको संभावित विरामीहरुको उपचारबाट पन्छिने , उपचार गरीरहेका बिरामीलाई हाच्छ्यु गर्ने वित्तिकै निकालेर खेद्ने किन गरीरहेका छन् ?
अर्कोतिर ३ करोड जनसंख्या रहेको मुलुकमा कोरोनाको परीक्षण दर अत्यन्तै न्युन भएको देखिन्छ । जस्तो नेपालमा प्रति दश लाख कोरोना परीक्षण करीब ६ सय जना हाराहारी देखिन्छ । जब कि रुसमा प्रति दश लाख ४१ हजार बढी मानिसमा परीक्षण भईरहेको छ । अमेरीकामा प्रति दश लाख ३१ हजार करीब मानिसहरुको परीक्षण भईरहेको छ । यसले पूर्व परीक्षणको यति कमजोर अवस्थाले हामीलाई अझ खतरामा धकेल्न सक्छ । किन भने कोरोनाको लक्षण शुरुमा नदेखिने र करीब दुई साता पछि अचानक स्वास प्रस्वासमा समस्या, अति ज्वरो र तत्काल मृत्युको जोखिम छ भन्ने हाम्रै देशमा स्पष्ट भयो ।
सीमापारीबाट हजारौ युवाहरु भारतले दशगजामा ल्याएर छाडे पछि ल्याउनै पर्ने स्थिति छ । अब खाडी तिरका युवाहरु पनि आउदैछन् । यस्तो स्थितिमा आम परीक्षण र उपचारको व्यवस्थापन भएन भने विश्व स्वास्थ्य संगठनले भने जस्तै अति जोखिममा हामी पर्न सक्छौ ।
आइसोलेसन, क्वारेन्टाइृन, खानपानको व्यवस्थानमा देखिएका लापरबाहीहरुले हामीलाई अझ समस्यातर्फ बिस्तारै लान सक्छ ।
यसले हाम्रो स्वास्थ्य प्रणालीमाथि निश्चय नै प्रश्न उठेको छ । स्वास्थ्य क्षेत्रको तीव्र निजीकरणले यस्ता महामारीका बेला राज्य र नागरिकले राम्रो साथ पाउन कठिन छ भन्ने देखायो । रुसमा अहिले उपचारमा व्यापक स्तरमा निजी अस्पतालहरु सहभागी भएका छन् तर हाम्रो देशका ठूला लगानी भएका , आन्दोलन गरेर अनुमति लिएका मेडिकल कलेजहरुले ढोकामा ताला लगाउदैछन् कोरोनाको बिरामी जस्तो लाग्ने मान्छे देखे पछि । भने पछि के उनीहरुलाई ब्यापार र नाफाको लागि मात्रै कहिले सम्म सञ्चालन हुन दिने ? यसबारे गंभीर भएर सोच्नु पर्दछ ।
अर्कोतिर सरकारी अस्पतालको विस्तार, गुणस्तरीय उपचार प्रणाली र आम मानिसको परीक्षणतिर सरकार लाग्नै पर्छ । स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार जस्ता कुराले कति लज्जित बनाएको छ देशलाई ?
बेलैमा सोचौँ केही ढिलो हुनु अघि नै केही गरौँ । कठोर चुनौती थाम्न सकिदैन भने पहिल्यै रोकथाम सबै भन्दा सुरक्षित र सहज विकल्प हो ।