के हो डा केसी र कनकमणि दीक्षितबीचको सम्बन्ध?

के हो डा केसी र कनकमणि दीक्षितबीचको सम्बन्ध?

(जीबन क्षेत्री)

लोकमानको अबको रणनीति डा केसीको अभियानलाई कनक मणि दीक्षितसँग जबर्जस्ती जोड्ने, दीक्षितमाथि दाग लगाउने र डा केसीको अभियानलाई पनि त्यही आधारमा ‘डिस्क्रेडिट’ गर्ने छ । त्यो रणनीति कसरी फेल खाँदैछ?

 
डा केसी र कनकमणि दीक्षितको सम्पर्क यसभन्दा अगाडिका अनशनहरुको क्रममा भएको हो । नागरिक समाजका अरु अभियन्तासँगै दीक्षित पनि ऐक्यबद्धता जनाउन आउन सामान्य हुन्थ्यो ।  त्यसबाहेक दीक्षित मात्र हैन, कसैसँग पनि भेटघाटको लेठो गर्ने चलन डा केसीको छैन ।त्यसबाहेक दुई जनाको एजेण्डा मिल्ने काम भनेको नन्दप्रसाद र गंगामायालाई बचाउने प्रयास थियो । त्यस क्रममा डा केसीसमेत पटकपटक वीर अस्पतालको आइसियुमा गएर दुवैलाई अनशन तोड्न मनाउन प्रयास गर्नुभएको थियो ।

आम मनोविज्ञानलाई प्रभावित गर्ने अनेक प्रयास असफल भएपछि अदुअआ प्रमुख लोकमान सिंह कार्की अब एउटा मिशनमा लागेका प्रतित हुन्छः डा केसीको अभियानलाई कनक मणि दीक्षितको मुद्दासित जोडिदिने । दीक्षितलाई सबै हथकण्डा अपनाएर दाग लगाउने, अनि डा केसीको अभियानमाथि पनि दाग लागेको भनेर प्रचार प्रसार गर्ने ।

तर जे कुराको पनि सीमा हुन्छ । मध्यान्हलाई अपरान्ह भन्यो भने सुहाउँछ, अपरान्हलाई साँझ भन्यो भने पनि बचाउ गर्न सम्भव हुन्छ तर मध्यान्हलाई मध्य रात भन्यो भने त्यसको बचाउ फितलो, हास्यास्पद र बेतुकको हुन्छ । दीक्षितको स्वार्थका लागि डा केसी लडिरहेको भन्ने भनाइ पनि लोकमानले प्रयास गरिरहेको त्यस्तै खाले बचाउको एक कडी हो ।

प्रसंग एउटा अनलाइनमा हिजो प्रकाशित एउटा आख्यानतुल्य रिपोर्टको हो जसलाई लज्जास्पद रुपमा समाचारको खण्डमा राखिएको छ । त्यसमा डा केसीको अनशन आफ्नो नभइ अख्तियारले  अनुसन्धानमा तानेका  पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितका लागि गरिएको भन्ने देखाउन खोजिएको छ । कल्पनाशीलताको प्रचुर प्रयोग गरिएको सो लेख प्रायोजित भएको प्रतित हुन्छ किनकि त्यसमा सहजै भेटिने गरी निम्न गम्भीर तथ्यगत त्रुटिहरु परेका छन्ः

१) शुरुतिर डा केसीलाई दीक्षितले घरमा डिनर बैठक गरेर लोकमानको महाभियोगको माग थपेर अनशन बस्न अनुरोध गरेको भनिएको छ ।

डा केसी नियमित डिनरका रुपमा पाक्य भोजन गर्नुहुन्न । सधैंजसो दही चिउरा र फलफुल खानुहुन्छ । राष्ट्रपतिले कुनै बेला डिनरका लागि बोलाए पनि उहाँ बाध्यता नभई जानुहुन्न । दीक्षितलाई अख्तियारले पोलेको कारण नभई आाफ्नो स्वभावकै कारण उहाँ त्यस्तो डिनर बैठकका लागि कहिल्यै जानुभएको छैन र डा केसीको बानी बुझेका दीक्षितले उहाँलाई त्यसरी बोलाउने झन् कुरै भएन ।

त्यसमाथि लोकमानलाई छानविन र कारवाही गर्ने मागलाई  अहिले जति  नाटकीय बनाउन  खोजिँदैछ यो कुरा त्यसरी नाटकीय रुपमा आएकै  हैन। डा केसीले तीन वर्ष अघि चौथो अनशनकै बेला त्यस्तो छानबिन र कारवाहीको मांग राख्नुभएको थियो, प्रकारान्तरले त्यो महाभियोगकै माग थियो । यो त्यतिबेलाको कुरा हो जब लोकमानले दीक्षितमाथि प्रतिशोधको सिलसिला शुरु गरिसकेका थिएनन् वा त्यो बाहिर आएको थिएन । यो तथ्य बिर्साउनका लागि अहिले महाभियोग माग नाटकीय रुपमा थपिएको देखाउन खोजिएको छ तर त्यसका लागि हास्यास्पद रुपमा डिनर बैठकको कल्पना गर्नु आवश्यक थिएन, अरु रचनात्मक झूट पनि बोल्न सकिन्थ्यो  ।

डा केसी पाँचौं आमरण अनशनका बेला । त्यतिखेर उहाँले राख्नुभएको पाँचौं मागमा ‘अदुअआ प्रमुखले आफ्नो अख्तियार दुरुपयोग गरी सम्बन्धनका लागि अवाञ्छित दबाब दिएको आरोप लागेकाले उक्त आरोपमाथि छानविन गरी दोषी पाइएमा अख्तियार प्रमुखलाई समेत कानुन बमोजिम कारवाही गरियोस्’ भनिएको थियो ।

२) जेठ २८ र २९ गते भाटभटेनीस्थित मन्नम रेष्टुरेण्टमा भएको भेलाले कार्की युरोपबाट फर्केपछि अनशन बस्न डा केसीलाई आग्रह गरेको भनिएको छ ।

भेला जेठ २९ गते एक दिन मात्र भएको थियो, कार्की बाहिर भएको बेला जासुसी गरेर कुरा सुनाउनेहरुले काम देखाएर पुरस्कृत हुन भेलालाई २ दिनको बनाएजस्तो देखिन्छ । भेलामा सांसद राधेश्याम अधिकारीले अख्तियारको अख्तियारी शीर्षकमा कार्यपत्र पेश गरेका थिए । त्यहाँ अनशन शब्दको कसैले उच्चारण गरे होला तर डा केसीको आठौं अनशनको प्रसंगै उठेको थिएन, खाली डा केसीले ‘म कसैलाई छाड्दिनँ र सत्याग्रहका लागि समेत तयार छु’ भनेर कार्यपत्र प्रस्तुति सकिएपछि  भन्नु भएको हो ।

आजका दिनमा नेपालमा कोही व्यक्ति छैन जसले व्यक्तिगत वा सामुहिक रुपमा डा केसीलाई अनशन गर्न आग्रह गरोस्, बरु उहाँको स्वास्थ्यको चिन्ताले अनशन नबस्न आग्रह गर्ने धेरै छन् । त्यस दिनको कार्यपत्रमा अधिकारीले व्यक्तिगत रुपमा लोकमानलाई नछोइ संस्थाकै रुपमा कसरी अदुअआ कानुन तोड्ने हतियार बन्दै आएको छ भन्ने व्याख्या गरेका थिए । (हेर्नुहोसु पूर्ण पाठ) । कुनै पनि अख्तियार पदाधिकारीलाई महाभियोग लगाउनुका व्यवहारिक जटिलताहरु अधिकारीले बताएको पृष्ठभुमिमा डा केसीले ‘तत्कालीन संविधानमै नभएको कुरा राजा हटेर गणतन्त्र त आयो भने अख्तियारका पदाधिकारी हटाउन नमिल्ने भन्ने के छ?’ भनेर सोध्नुभएको थियो । सो भेला विशुद्ध बौद्धिक थियो, त्यसको विषय डा केसी अनशन बस्ने वा नबस्ने थिएन बरु अदुअआले निरन्तर गरिरहेको ज्यादतीपूर्ण व्यवहारको पृष्ठभुमि खोजिएको थियो ।

३) भेलामा उल्लिखितहरुको विवरण हेर्यो भने जर्ज अर्वेलले साम्यवादी ‘पोलिस स्टेट’बारे किन ‘नाइन्टिन एट्टी फोर’ नामक पुस्तक लेखे भन्ने प्रष्ट हुन्छ । त्यहाँ गएर को आएको थियो भन्दा पनि अहिले लोकमान सिंह कार्कीले फैलाइरहेको प्रोपागाण्डालाई जसको नाम राख्न उचित हुन्छजस्तो लाग्छ, ती नामहरु पारिएको छ । त्यस्तो काल्पनिक उपस्थिति जनाउनेहरुमा विजय कुमार पाण्डे, हरि बहादुर थापा, अमित ढकाल, प्रतिक प्रधान लगायतका छन् । यो पंक्तिकार लगायत उपस्थित प्रवुद्ध नागरिकहरु र स्वतन्त्र  नागरिक सञ्जालका तर्फबाट कार्यक्रम संचालन गर्ने साथीहरुको समेत नाम छुटेको छ। नागरिकहरुले उदात्त रुपमा देशको जल्दोबल्दो  विषयमा खुलेर गरेको छलफललाई खाली डा केसी र दीक्षितबीच षड्यन्त्रका लागि बसेको कोठे बैठकका रुपमा प्रस्तुत गर्नुले नै त्यो प्रयासको नियत छर्लङ्ग पार्छ।

४) चानचुन १०० जना भेला भएको कार्यक्रममा २० जना आएको भनिएको छ, जुन आफैंमा बुझिनसक्नु कुरा छ । ‘पुलिस स्टेट’का हर्ताकर्तालाई रिझाउन स्वतन्त्र नागरिक सञ्जालले गरेको नेपालका बौद्धिकहरुको त्यो महत्वपूर्ण  भेलालाई सानो देखाउन खोजिएको होला तर राजनीतिक नेतृत्वको मुख लज्जास्पद रुपमा थुनिइरहेको बेला त्यति निडर नागरिक भेला भएर निर्धक्क कुरा गर्न सक्थे, त्रास र त्रास र आतंकको हतियार लोकमानले सोचे जति प्रभावकारी भइरहेको थिएन । अब त झन् त्यो हतियार कामै नलाग्ने गरी भुत्तो भइसकेको छ । सत्य त्यही हो ।

झण्डै सय जना नागरिक भेला भएर राधेश्याम अधिकारीको कार्यपत्र सुन्दै । सो कार्यक्रम ब्यक्तिका रुपमा लोकमान वा डा केसीभन्दा पनि विशुद्ध विधिको शासन र त्यसमा संस्थाका रुपमा अदुअआले स्थापनाकालदेखि नै खेल्दै आएको भुमिकाबारे चर्चा भएको थियो ।

डा केसी र दीक्षितबीच षड्यन्त्रको स्तरमा साँठगाँठ भएको देखाउन सो भेलालाई एउटै आधार बनाएको देखिन्छ । र त्यो तर्कलाई पत्यारिलो बनाउन डा केसीको एउटा काल्पनिक भनाइ राखिएको छः तपाइँहरुको सहयोग भएमा अनशन बस्न तयार छु ।

जबकि डा केसी कहिल्यै कसैसँग सहयोगको याचना गरेर अनशन बस्ने व्यक्ति हैन, बरु त्यस दिन पनि सधैं झैं भन्नुभएको थियोः सबैको सहयोगको अपेक्षा गर्छु तर एक्लै भए पनि म लड्छु, बेथितिका विरुद्ध नागरिकको जिम्मेवारी निभाउँछु । अरु केही नभए पनि मेरो कन्साइन्सलाई न्याय गर्न भए पनि म लड्छु ।

खास के हो त डा केसी–दीक्षिjeevanत सम्बन्ध?

डा केसी र कनकमणि दीक्षितको सम्पर्क यसभन्दा अगाडिका अनशनहरुको क्रममा भएको हो । नागरिक समाजका अरु अभियन्तासँगै दीक्षित पनि ऐक्यबद्धता जनाउन आउन सामान्य हुन्थ्यो ।  त्यसबाहेक दीक्षित मात्र हैन, कसैसँग पनि भेटघाटको लेठो गर्ने चलन डा केसीको छैन ।

त्यसबाहेक दुई जनाको एजेण्डा मिल्ने काम भनेको नन्दप्रसाद र गंगामायालाई बचाउने प्रयास थियो । त्यस क्रममा डा केसीसमेत पटकपटक वीर अस्पतालको आइसियुमा गएर दुवैलाई अनशन तोड्न मनाउन प्रयास गर्नुभएको थियो ।

पछिल्लोपल्ट अख्तियारले दीक्षितलाई पक्राउ गरेर उनी वीर अस्पतालको आइसियुमा रहँदा डा केसीकी आमाको क्यान्सरका लागि वीर अस्पतालमा उपचार भइरहेकाले उहाँ त्यहीं हुनुहुन्थ्यो । संयोगवश दीक्षित त्यहाँ भएको थाहा भएपछि उहाँ भेट्न जानुभएको थियो । समानान्तर सत्ताबाट खटिएका प्रहरीले भित्र छिर्न नदिएपछि लोकमानलाई लल्कार्दै प्रहरीलाई थर्काएपछि उसले फोन गरेर माथिको आदेश लिएर डा केसीलाई भित्र छिर्न दिएको थियो ।

खास गरी दीक्षित हिरासतमा रहँदा मैले अख्तियारको ऐना शीर्षक लेख (जसमा अख्तियारका कर्तुतहरुको विस्तारमा व्याख्या थियो) लेखेर स्थिर तलाउमा तरंग ल्याएको पृष्ठभुमिमा हिरासत मुक्त भएपछि मेरो दीक्षितसँग चिनजान भएको हो ।

नागरिकका रुपमा म र दीक्षितबीच बीच वा डा केसी र दीक्षितबीच कुनै सम्पर्क र सम्बन्ध हुन नहुने भन्ने छैन र जस्तो सम्बन्ध छ, त्यो हाम्रा लागि खूला छ । त्यसमा लुकाउने कुरा नै केही छैन ।

मसँग कुरा हुँदा दीक्षितको एउटै अडान हुने गरेको छः अवस्था अप्ठेरो भएको हुनाले सकभर डा केसीलाई अनशन बस्न दिनुहुँदैन किनकि उहाँको ज्यान रहे मात्र सबै कुरा रहने हो र यो अवस्थामा बस्नुभयो भने ज्यान अप्ठेरोमा पर्न सक्छ । भाटभटेनी भेलामा समेत हामीबीच भएको कुरा त्यही थियो।

तर उहाँ स्वविवेकले बस्ने हुँदा बसिहाल्नुभयो भने सहयोग गर्ने काम स्वतःस्फूर्त हुँदै नै आएको छ ।

त्यसबाहेक कहिलेकाहीं दलहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएर डुबाएको र दीक्षितको नेतृत्वमा अलिकति बौरिएको साझा बस मा डा केसी चढ्नुहुन्छ । जति तिलको पहाड बनाए पनि डा केसी र दीक्षितबीच सम्बन्ध यति हो ।

किन छपाए लोकमानले प्रायोजित सामाग्री?

समाचारका रुपमा छापिएको सो अर्ध–आख्यानको उद्देश्य नै लोकमान सिंह कार्कीको बारेमा एकपछि अर्को गर्दै सप्रमाण सार्वजनिक हुँदै गइरहेका घोटालाहरुबाट मानिसको ध्यान मोड्ने र दयनीय रुपमा तल परिसकेको बुझाइको युद्ध वा ‘वार अफ पर्सेप्सन’ मा टाउको उठाउने प्रयास हो । तर अन्ततः सो मिशन असफल भइसकेको छ ।

कारण १ः हरिबहादुर थापा, अमित ढकाल, प्रदीप ज्ञवाली, प्रतिक प्रधान लगायत त्यसमा नाम लिइएका तर भेलामा संलग्न नभएका व्यक्तिहरुले उपस्थितिको समाचार खण्डन गर्नासाथ यो प्रायोजित अभियान हो भन्ने प्रष्ट भएको छ ।

कारण २ः सो सामाग्रीले  लोकमान आफैंले चलाइरहेको समानान्तर राज्य र उनले गरिरहेको ‘पोलिस स्टेट’को अभ्यासको पुनर्पुष्टि गरेको छ । दीक्षित र केसीलगायत नागरिकहरु कुन समय कहाँ जाँदैछन् र कोसित फोनमा कुरा गर्दैछन् भन्ने लोकमान र उनको समानान्तर राज्य संयन्त्र (जुन सो सामाग्रीका एउटै स्रोत भएको प्रष्ट छ) लाई कसरी थाहा हुन्छ? अख्तियार भ्रष्टाचारका विषयमा अनुसन्धान र अभियोजन गर्ने निकाय हो कि नागरिकहरुका भेला र भेटघाटको जासुसी गर्दै हिंड्ने गोप्य पुलिस हो?

कारण ३ः सो सामाग्रीले लोकमानमाथि झुण्डिएको असुरक्षाभावको तरबारको अस्तित्व फेरि पुष्टि गर्छ । नागरिकहरुको प्रहारका कारण चौतर्फी घेराबन्दीमा परिसकेका उनले अहिले डा केसीको अभियानमा देखिएर लागेका वा लाग्न सक्ने भनेर उनले ठानेका केही युवा र राजनीतिज्ञहरुलाई नामै लिएर तर्साउने रणनीति लिएका छन् । तर मेरो विश्लेषणमा अब माहोल यस्तो बनिसकेको छ कि अरु बेला काम गर्ने सम्भावना भएको सो रणनीतिले अब काम गर्ने छैन ।

अध्यात्मवादी भनिने लोकमानले अहिले के बिर्सेका छन् भने यो भुगोल र समय दुवै विराट छन् र ब्रम्हाण्डको केन्द्र उनी वा हामीजस्ता कुनै पनि व्यक्ति हैनन् । जब ज्यादती भएको ठानेर नागरिकहरु जुर्मुराएर उठ्छन्, त्यसको ओखती हुँदैन र जस्तोसुकै शक्ति नागरिकसामू झुक्न बाध्य हुन्छ । यस्तो बेला जालझेल, त्रास वा आतंकले क्षणिक रुपमा भन्दा बढी काम गर्न सक्दैनन् ।

यदि काल्पनिक घटनाक्रमको मदतले डा केसीको अभियानलाई कनक मणि दीक्षितसँग जोडेर आफ्नो बचाउ गर्ने लोकमानको गम्भीर प्रयास हो भने मेरो सदुभावपूर्ण सुझावः लोकमानजी, रणनीति बदल्नुस् । अब जति यो प्रयास लम्ब्याइन्छ, उति नै तथ्यहरु आउँछन् र तपाइँको यसै पनि कमजोर प्रतिरक्षा कामै नलाग्ने हुन्छ ।

नोटः उल्लिखित आख्यान समाचार टिप्पणी-योग्य भएर यो प्रति-टिप्पणी आएको हैन । खाली त्यस आख्यानका कारण आम मानिसमा विभिन्न भ्रमहरु पर्न गएकाले सही सुचनामार्फत तिनलाई चिर्नु यो टिप्पणीको उद्देश्य हो ।

साभार  :http://jiwankshetri.blogspot.com/ को ब्लगबाट