कस्तो होला कोरोना भाइरसपछिको विश्व परिदृष्य ?

कस्तो होला कोरोना भाइरसपछिको विश्व परिदृष्य ?

कोरोना भाइरस (कोभिड –१९) संक्रमणसँग लड्नका लागि विश्वभरका मानिस र सरकारले जुन बाटो तय गर्नेछन् त्यसले आगामी वर्षहरुमा संसारलाई नै बदलिदिनेछ । यो भनाइ हो ‘बाइ सेपियन्स अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइण्ड’ का लेखक तथा इतिहासकार युभल नोहा हरारीको ।

कोरोना भाइरसको महामारीपछि कस्तो समाज बन्ला ? के विश्वभरी एक आपसमा एकजुटता बढ्ला वा दुरी बढ्ला ? अंकुश लगाउने, निगरानी राख्ने तरीकाबाट नागरिकलाई बचाउन सकिएला वा उनीमाथि उत्पीडन होला ?

हरारीले भनेका छन्, ‘संकट यस्तो छ कि हामीले ठूलो निर्णय गर्नु पर्छ । यी निर्णय छिटो लिनु पर्छ । हामीसँग विकल्प भने छन् ।’

राजनीतिक संकट

यो संकटको मोचन कसरी गरिन्छ भन्ने कुरा अहिले विश्वमा बहसको विषय बनेको छ । हरारी भन्छन्, ‘यो संकटको सामना हामी राष्ट्रवादी तरिकाले गर्छौं कि विश्व साझेदारी र एकता प्रदर्शन गरेर गर्छौं ?’

हरेक देशसँग विकल्प छन् । सर्वाधिकार सम्पन्न केन्द्रीकृत व्यवस्था र सामाजिक एकतासहितको नागरिक सशक्तिकरणमा एक छनौट गर्न सक्छन् ।

हरारीका अनुसार कोरोना भाइरस महामारीले वैज्ञानिक र राजनीतिक दुबैतर्फ प्रश्न उठाएको छ । आज विश्व केहि वैज्ञानिक चुनौती हल गर्ने कोशिसमा त लागेको छ, तर राजनीतिक समस्यातर्फ उसको ध्यान गएको छैन ।

उनी भन्छन्, ‘महामारीलाई रोक्न आवश्यक पर्ने सबै चिज मानिससँग छ । यो मध्यकालीन समय होइन । यो प्लेग जस्तो महामारी पनि होइन । मानिसहरु किन मरिरहेका छन् र के गर्ने हो भने जानकारी नै नपाउने अवस्था पनि छैन ।’

अहिलेसम्म कोरोना संक्रमणको औषधि बनेको छैन । तर विश्वका वैज्ञानिक अत्याधुनिक प्रविधिका माध्यमले यसको खोप बनाउन वैज्ञानिकहरु प्रयासरत रहेका छन् ।

हात धुदा र दुरी कायम गर्दा भाइरस संक्रमण फैलनबाट रोक्न सकिन्छ । हरारी भन्छन्, ‘यस भाइरसलाई हामीले चिनिसकेका छौं । हामीसँग प्रविधि पनि छ । यो भाइरस हराउन हामीसँग आर्थिक संसाधन पनि छ । तर हामी यी शक्तिलाई कसरी प्रयोग गर्छौ भन्ने प्रश्न उठ्छ । यो नै प्रमुख राजनीति प्रश्न हो ।’

खतरानाक प्रविधिको प्रयोग

हरारीले फाइनान्सियल टाइम्सको आफ्नो लेखमा लेखेका छन्, ‘आपतकालले ऐतिहासिक प्रक्रियालाई छिटो अगाडि बढाउँछ । आमरुपमा जुन निर्णय गर्न वर्षौं लाग्छ ती निर्णय रातारात गर्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘आपतकाल खतरानाक रुपमा विकसित भइरहेको छ । प्रविधिलाई पूूर्ण विकास र बहस बिना नै प्रयोग गरिँदै छ ।’ उनका अनुसार सरकारबाट नै यो प्रविधि गलत तरिकामा प्रयोग हुन सक्छ । सरकार पूर्णरुपमा निगरानी गर्न सक्छ । जसमा हरेक मानिसमाथि निगरानी र अपारदर्शी रुपमा फैसला गर्न सक्छ ।

उदाहरणका लागि इजरायलको सरकारले सिक्रेट सर्विसको शक्ति बढाएको छ । यसको माध्यमले केवल उसले स्वास्थ्य अधिकारीमाथि मात्र निगरानी बढाएको छैन, हरेक आम मानिसको लोकेशन डाटामा निगरानी राखेको छ । यस्तो दक्षिण कोरियामा पनि लागु गरेको छ । तर दक्षिण कोरियामा बढी पारदर्शीताका साथ लागू गरेको छ । हरारीका अनुसार छोटो समयका लागि यी प्रविधिलाई लागू गर्न सकिन्छ तर स्थायी गर्दा कयौं खतरा छन् ।

‘स्वास्थ्य होस अथवा आर्थिक मामलामा सरकार यस्ता निर्णायक निर्णय गर्न सक्छ । कडा कदम उठाउन सक्छ । म यसको पक्षमा छु । तर यो त्यो सरकारले गर्नु पर्छ जुन पुरा जनसंख्याको प्रतिनिधित्व गर्छ,’ उनले भनेका छन्, ‘आम रुपमा ५१ प्रतिशत जनसंख्याको समर्थनमा सरकार बनेको हुन्छ । यस्तो अवस्थामा सरकारले पुरा देशबासीको ख्याल गर्नुपर्छ ।’

एक्लै अथवा आपसी सहयोग

हरारीका अनुसार ‘केहि वर्षदेखि राष्ट्रवाद र सस्तो लोकप्रियताको बलमा सवार सरकारले समाजलाई दुई भागमा विभाजन गरेको छ । अरु देशकाविरुद्ध घृणा फैलाउने कामलाई प्रोत्साहन दिँदै छन् ।’

तर विश्वभरी फैलने महामारी सामाजिक समूह र देशबीचमा भेदभाव गर्दैन । त्यहि भएर यस्तो महामारीको समयमा एक्लै हिँड्ने कि एक आपसमा सहयोग लिँदै अघि बढ्ने भन्ने निश्चित गर्नु पर्छ ।

विश्वमा अहिले केहि देशहरु महामारीबाट मुक्ति पाउन एक्लै कोशिस गरिरहेका छन् । यसमा पनि चिकित्सकीय सेवा सुविधा र निजी फर्महरुबाट पाइने आपूर्तिको माध्यबाट गरिरहेका छन् । अन्य देशलाई मास्क, रसायन र भेन्टिलेटरको आपूर्ति गर्न नदिएको भन्दै अमेरिकाको आलोचना हुँदै आएको छ ।

आशंका यो पनि छ कि धनी देशका प्रयोगशालामा तयार गरेको खोप विकासशील र गरिब देशमा प्रयाप्त मात्रामा पुग्न पाउँदैन ।
हरारीका अनुसार ‘विश्वभरीमा आपसी सहयोग, जानकारी, सूचनाको आदानप्रदान र महामारीबाट प्रभावित देशहरुमा स्वास्थ्य उपकरको निष्पक्ष वितरण गर्नु तर्क संगत हो ।’

उनी भन्छन्, ‘अन्तिम पटक महामारीको समयमा मानिसले स्वयंलाई कसरी अलग राखेर आफ्नो बचाउ गर्न सफल भएका थिए । यो थाहा पाउनका लागि पाषणकालीन युगमा जानु पर्छ । मध्यकालीन युग (१४ औ शताब्दी) मा पनि प्लेगको महामारी फैलिएको थियो । मध्यकालीन युगमा फर्केर बचाउ सम्भव छैन ।’

सामाजिक व्यवहारमा परिवर्तन होला ?

महामारीबाट मुक्ति पाउनका लागि चुनेका विकल्पले जस्तो असर होस्, मानिस सामाजिक रुपमा परिवर्तन हुँदैन । मानिस एक सामाजिक प्राणी हो र रहने छ ।

मानिसको प्रवृति बिरामीको नजिक जाने र करुणा दर्शाउने छ । तर कोरोना भाइरस यहि प्रवृतिको शोषण गरिरहेको छ ।

हरारी भन्छन्, ‘यो भाइरस हामीलाई संक्रमित गर्नका लागि हाम्रो प्रकृतिको शोषण गरिरहेको छ । हामीले स्मार्ट हुनुपर्छ । दिमागले सोच्नु पर्छ, मनले होइन, सामाजिक दुरीको बाटो अपनाउनु पर्छ ।’

हामी सामाजिक प्राणीका लागि यस्तो गर्न समस्या छ । तर यो संकटबाट मुक्त भएपछि सामाजिक एकताको आवश्यकता बढी हुने छ । यो भाइरसले मानिसको प्रमुख प्रवृत्तिलाई बदल्ने छ ।

(युभल नोहा हरारीको विचारमा आधारित बीबीसी रिपोर्टको  भावानुवाद)