ओली प्रचण्ड वार्ता ‘सकरात्मक’, भोलि फेरि अर्काे वार्ता

ओली प्रचण्ड वार्ता ‘सकरात्मक’, भोलि फेरि अर्काे वार्ता

काठमाडौं बैशाख ७-

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ।

आजको वार्तापनि एकता संयोजन समिति अन्तर्गतका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि केन्द्रित थियो । दुबै अध्यक्षहरुबीच आज सौहार्दपूर्ण छलफल भएको जानकारी माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

‘अध्यक्षले आजको वार्ता सकरात्मक भयो भन्नुभएको छ’ सापकोटाले  भने, ‘आजको वार्तालाई भोलिपनि निरन्तरता दिने सहमति भएको छ।’ आजको वार्ताले निरन्तरता पाउनुको अर्थ हो, ओली–प्रचण्डबीचको वार्ता सकरात्मक दिशातर्फ उन्मुख छ। त्यसो नहुँदो हो त, वार्ता आजै टुङ्गिने थियो।

प्रधानमन्त्री समेत रहेका ओलीको कार्यशैलीमाथि प्रश्न चिन्ह उठाउँदै प्रचण्डले एकता प्रक्रिया लम्ब्याउन चाहेपछि ओलीपनि दबाबमा परेका छन्। त्यसैले, माओवादीले उठाएका विषयवस्तुमाथि प्रधानमन्त्री ओली पहिले भन्दा लचक बन्न देखिन थालेको स्रोतको दावी छ।

दुई पार्टीबीच मिल्न नसकेको चुनाव चिन्ह, जनयुद्धलाई हेर्ने दृष्टिकोण र पदीय बाँडफाँटसम्बन्धी विषय टुङ्ग्याउने जिम्मा ओली–प्रचण्डलाई छ। कार्यदलस्तरमा नटुङ्गिएका यी विवाद बाहेक दुई अध्यक्षले कसरी काम गर्ने भन्ने सम्बन्धी कार्यविधि पनि निर्माण गर्नुपर्ने माग माओवादीको छ।