आन्तरिक उडान खुलाउने सरकारको तयारी, यात्रुलाई कोरोना नेगेटिभ प्रमाणपत्र अनिवार्य

आन्तरिक उडान खुलाउने सरकारको तयारी, यात्रुलाई कोरोना नेगेटिभ प्रमाणपत्र अनिवार्य

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान खुला गर्ने तयारी गरेको छ । कोरोना संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्देशिका बनाएर हवाई उडान खुला गर्न लागिएको हो।

यसका लागि खुला गरिने विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो ।

प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिकासमेत पठाइसकेको छ । अन्तर्राष्ट्रिय उडानको पनि निर्देशिका तयारीको काम सुरु भएको प्राधिकरणले जनाएको छ।  निर्देशिकामा यात्रु, एयरलाइन्स र विमानस्थल सबै क्षेत्रले पालना गर्नुपर्ने नियमबारे उल्लेख हुनेछ ।

यात्रुले पीसीआर वा र्‍यापीड टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । यसबाट धेरै हदसम्म उडानमा संक्रमण फैलिन रोक्ने प्राधिकरणको विश्वास छ ।

विमानस्थलमा यात्रुहरूबीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचना तयार पारिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिनुभयो।

विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनुपर्नेछ । यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ ।

प्रवक्ता क्षेत्रीका अनुसार असार पहिलो साताबाट आन्तरिक उडान खुलाउने तयारी छ।