अन्तरजातीय विवाहपछि कमाण्डरले भने -‘यिनीहरुको त जन्ती होइन, मलामी जानुपर्ने’

अन्तरजातीय विवाहपछि कमाण्डरले भने -‘यिनीहरुको त जन्ती होइन, मलामी जानुपर्ने’

२०६१ सालको मंसिर महिना । जनयुद्ध चरम उत्कर्षमा थियो । त्यहीबेला रुकुमको लावाङमा माओवादीका उच्च तहका नेताहरु सम्मिलित एउटा विवाह कार्यक्रम हुँदै थियो । बेहुली थिइन्, रेडियो जनगणतन्त्र विशेष क्षेत्रकी प्रस्तोता अर्घाखाँचीकी अस्मीता खड्का, जो रेडियोमा अरुणा रायमाझीको नामबाट चर्चित थिइन् । बेहुला थिए, रेडियो जनगणतन्त्र विशेष क्षेत्रका प्राविधिक दाङका राजेश थारु । विवाह खड्का र थारुको भएपनि समाजका लागि यो अन्तरजातीय विवाह नै थियो । तर यो विवाहपछि अस्मीता र राजेशले अन्तरजातीय विभेदभन्दा बढी राजनीतिक विभेद खेपे ।

विवाहमा तत्कालिन माओवादीका पश्चिमाञ्चल इन्चार्ज पोष्टबहादुर बोगटी लगायतका उच्च तहका नेताहरु उपस्थीत थिए । विशेष क्षेत्रका इन्चार्ज नेत्रबिक्रम चन्द ‘विप्लव’ देखि सहइन्चार्ज पम्फा भुसालसम्म थिए विवाहमा । उनीहरुमध्ये अधिकांश मन्त्रीदेखि विभिन्न पदमा पुगिसके, कोही अहिले पनि विभिन्न पदमा र नियुक्ति लिएर बसेका छन् । सबैले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विवाहित जोडीलाई शुभकामना दिए । तर जब अस्मीता विवाह सकेर हलबाहिर निस्किदै थिइन्, त्यतीबेला हलबाहिर रहेका जनमुक्ति सेनाका केही कमाण्डरहरु भन्दै थिए – ‘यिनीहरुको त जन्ती होइन मलामी जानुपर्ने थियो ।’

त्यसको केहीदिन अगाडि त्यही लावाङमा सम्पन्न माओवादीको पोलिटब्यूरोको बैठकले बाबुराम भट्टराई, हिसिला यमी र दीनानाथ शर्मालाई कारवाही गरेको थियो । विवाहकी बेहुली अस्मीता खड्का तिनै बाबुराम र हिसिलासँग भारतमा लामोसमय सँगै बसेकी थिइन् । बाबुराम लगायतमाथि कारवाही भएको अवस्थामा बाबुराम र हिसिलासँग लामोसमय सँगै बसेकी अस्मीताको विवाहमा माओवादीका उच्च तहका नेताहरु उपस्थीत भएको ती कमरेडहरुलाई मन परेको थिएन । त्यसैले उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

विवाहकै दिनमा यस्तो कुरा सुन्दा अस्मीताको मन निकै अमिलो भयो । तर पनि मनमनै दुखी भइन्, कसैलाई केही भनिनन् । अस्मीता सम्झिन्छन् – ‘विवाहकै दिन त्यस्तो सुन्दा निकै नराम्रो लाग्यो । तर कहाँ गएर कस्लाई भन्ने ? आफैलाई सान्त्वना दिंदै सम्हालें ।’

लामो समय भारतमा बाबुराम र हिसिलासँग बसेका कारण विवाहमा उनीहरुपनि आउलान् भन्ने लागेको थियो अस्मीतालाई । तर उनीहरु आएनन् । उनीहरु त पार्टीको कारवाहीमा परिसकेका रहेछन् । भेटघाट गर्न समेत दिइएन । उनीहरु जनमुक्ति सेनाको घेरामा रहेको हल्ला थियो । त्यसैले उनीहरु विवाहमा उपस्थीत नहुँदा अरुणालाई आफ्नै विवाह कताकता वेस्वादिलो जस्तो लागेको थियो । बाबुरामलाई विवाहको खबर पुर्याइदिन भनेपनि कसैले पुर्याएनन् ।

विवाह हुँदा अस्मीताले नुहाउन नपाएको पनि केही महिना भइसकेको थियो । त्यसमा पनि उनलाई हनहनी ज्वरो आइरहेको थियो । विवाहको मिति तय भएपछि अस्मीता र राजेशलाई खबर गरियो । अरुणा र राजेश जलजलाबाट हतारहतार थवाङ झरेर हातमुखमात्र धोएर विवाहस्थल लावाङ पुगेका थिए ।

अस्मीता सम्झिन्छिन् – ‘त्यतीबेला हिउँ परिसकेको थियो । त्यसैले निकै जाडो थियो । ननुहाएको महिनौं भएको थियो । त्यसमाथि मलाई ज्वरो पनि आइरहेको थियो । विवाहको मिति र समय फिक्स भइसकेकाले त्यो मिति र समयमा पुग्नैपर्ने थियो । त्यसैले आफ्नै विवाहमा जाँदा पनि नुहाउने समय पाइएन ।’

विवाहपछि अस्मीता र राजेश रेडियोमा फर्के । विवाहमा नआएका बाबुराम र हिसिलाई सिध्याइसके भन्ने हल्ला समेत चल्न थालेको थियो । पार्टीभित्रको अन्तरसंघर्ष अत्यन्तै चरमउत्कर्षमा पुगेको थियो । यति नै बेला बाबुरामले हातैले लेखेको एउटा पत्र रेडियो जनगणतन्त्रमा आयो ।

अरुणा भन्छिन् – ‘त्यो पत्रमा उहाँले मलाई विवाह भएको थाहा पाएको भन्दै शुभकामना लेख्नुभएको थियो । मैले अक्षर देख्नासाथ बाबुरामको पत्र भन्ने थाहा पाइहालें । तर बधाई भन्दा पनि त्यो पत्र उहाँहरु जीवितै रहेको प्रमाण थियो । जव मैले चिठी पाएर पढें, तर उहाँ जिउँदै हुनुहुदो रहेछ भन्ने विश्वास लाग्यो । त्यतीबेला म एकान्तमा बसेर धेरैबेर रोएँ । मेरो विहेमा सहभागी नभएकोमा भन्दा पनि जिउँदै भएको थाहा पाउँदा खुशी पनि लाग्यो ।’

यसरी पार्टीमा चरम अन्तरसंघर्ष चलिरहेको बेला विवाह भएको राजेश र अस्मीताको प्रेम भने २०६० सालमा जाजरकोट जाने बेलामा थाहै नपाई अंकुराउन थालेको थियो । उनीहरु रेडियो संचालनका लागि एउटा तालिम लिने क्रममा सँगै जाजरकोट गएका थिए ।

जाजरकोट जानेबेलामा बाटोमा धेरै कुराकानी भयो । पछि आएर एउटै रेडियोमा काम गर्न थाले । काम गर्दै जादाँ एकअर्काको नजिक भए । रोल्पा र रुकुमका डाँडाहरुमा हिमपात र बर्षाकाबीच लामो समय काम गर्ने दौरानमा उनीहरुको प्रेम सम्बन्ध अगाडि बढेको थियो । त्यसपछि उनीहरुले विवाहको लागि निवेदन दिएका थिए । निवेदन स्वीकृत भएपछि पार्टीका उच्च नेताहरुको उपस्थीतिमा उनीहरुको विवाह भयो ।

Public News Agency